काठमाडौं । मेची-महाकाली विद्युतीय रेलमार्ग आयोजना अन्तर्गत बर्दिबास-इनरुवा खण्ड (१३९.४२ किमी)को वातावरणीय प्रभाव मूल्यांकन (ईआइए) प्रतिवेदन परिमार्जन गरिने भएको छ ।
रेल विभागले उक्त रेलमार्गको बर्दिबास-इनरुवा खण्डको ईआइए प्रतिवेदन परिमार्जनका लागि सरोकारवालाहरूसँग रायसुझाव माग गरेको हो ।
रेल विभागले सार्वजनिक सूचना जारी गर्दै आयोजना प्रभावित क्षेत्र ५ जिल्लाका स्थानीयसँग राय सुझाव माग गरेको हो । १३९.४२ किमी लामो यो रेलमार्गको ईआइए प्रतिवेदन स्वीकृतिको अन्तिम चरणमा पुगेको छ ।
यसअघि २०७६ माघमा सार्वजनिक सुनुवाइ गरी ईआइए प्रतिवेदन तयार पारिएको थियो । अहिले उक्त प्रतिवेदन अद्यावधिक गर्न सरोकारवालासँग राय सुझाव माग गरिएको हो ।
ईआइए प्रतिवेदन तयारी गर्ने क्रममा उक्त क्षेत्रको प्राकृतिक, भौतिक, जैविक, सामाजिक, सांस्कृतिक र आर्थिक प्रणालीमा के-कस्तो प्रभाव पार्न सक्छ भन्ने विषयमा यकिन गरी स्थानीय तह, विद्यालय, स्वास्थ्य संस्था तथा सरोकारवाला व्यक्तिसँग ७ दिनभित्र लिखित रायसुझाव माग गरेको हो ।
मेची-महाकाली विद्युतीय राजमार्गको बर्दिबास-इनरुवा खण्ड महोत्तरी, धनुषा, सिराहा, सप्तरी र सुनसरी हुँदै जानेछ । यो रेलमार्ग प्रतिघण्टा २०० किलोमिटरको गतिमा गुड्न सक्ने गरी डिजाइन गरिएको छ । रेलमार्गका लागि ५० मिटरको ‘राइट अफ वे’ प्रस्ताव गरिएको छ ।
बर्दिबास-इनरुवा खण्डमा महोत्तरीको बर्दिबास, धनुषाको मिथिला, छिरेश्वरनाथ, धनुषाधाम, गणेशमान चारनाथ र शहीदनगर, सिराहाको कर्जन्हा, मिर्चैया, गोलबजार, धनगढीमाई, लहान तथा नरहा गाउँपालिका प्रभावित हुनेछन् ।
त्यस्तै, सप्तरीको सुरुङ्गा, खडक, शम्भुनाथ, डाक्नेश्वर, राजविराज, हनुमाननगर कंकालिनी, कञ्चनरुप, रुपनी, महादेवा र तिरहुत तथा सुनसरीको कोशी, भोक्राहा र नरसिंह गाउँपालिका प्रभावित हुने जारी सूचनामा उल्लेख छ ।


