काठमाडौं । सरकारले हिजो सार्वजनिक गरको नयाँ बजेटले विद्युतीय कारमा मूल्यको आधारमा कर निर्धारण गरेको छ । सरकारले निर्धारण गरेको नयाँ कर नीतिले साना विद्युतीय कारको मूल्य भने वृद्धि हुने भएको हो ।
नेपाल सरकारले यसअघि अगाडि लगाउँदै आएको किलोवाट आवरमा करको नीतिलाई बदलेर खरिद मूल्यको आधारमा कर लगाएको हो । त्यसको अलावा यसअघि लाग्दै आएको अन्तःशुल्क पनि खारेज गरिएको छ ।
झट्ट सुन्दा कर घट्यो भन्ने लाग्छ । तर, यथार्थमा कर बढेको देखिन्छ । यसअघि ५० किलोवाटसम्मका विद्युतीय कारमा भन्सार, अन्तःशुल्क, सडक निर्माण दस्तुर र मूल्य अभिवृद्धि कर (भ्याट) लगाइएको थियो । तर, यस पटक सरकारले अन्तःशुल्क खारेज गर्दै नयाँ शिर्षकमा कर लगाएको हो ।
अहिले स्वच्छ पुर्वाधार लगानी शुल्क नामबाट नयाँ करको शिर्षक थप गरिएको छ । यो शिर्षकमा कारोबार मूल्य (भन्सार बिन्दुमा) २० लाखसम्म रहेका कारमा २.५ प्रतिशत कर निर्धारण भएको छ । यसअघिको अन्तःशुल्क ५ प्रतिशतलाई हटाएर नयाँ स्वच्छ पूर्वाधार लगानी शुल्क कम लगाएको देखिन्छ ।
अहिले पहिलेको तुलनामा कर बढेको देखियो । सबै किसिमका गाडीमा २० प्रतिशत भन्सार कायम गरिएको छ । यसले जस्तोसुकै पावर वा मूल्यको ईभी भएपनि भन्सार शुल्क समान २० प्रतिशत लाग्ने ब्यवस्था गरिएको छ ।
अब हेरौं पुरानो र नयाँ ब्यवस्था अनुसारको कर
मोटर पावर ५० किलोवाटसम्म भएका विद्युतीय कारमा १५ प्रतिशत भन्सार, ५ प्रतिशत अन्तःशुल्क, ५ प्रतिशत नै सडक निर्माण दस्तुर र १३ प्रतिशत भ्याट लगाइएको थियो । सिधा हिसावमा पनि ३८ प्रतिशत कर देखिन्थ्यो ।
अब, नयाँ ब्यवस्था अनुसार भन्सार शुल्क २० प्रतिशत, स्वच्छ निर्माण शुल्क २.५ प्रतिशत, सडक निर्माण दस्तुर ५ प्रतिशत र भ्याट १३ प्रतिशत गरी कुल ४०.५ प्रतिशत कर लाग्ने भएको हो । सिधा हेर्दा पनि २.५ प्रतिशत मूल्य बढ्ने देखिन्छ । नयाँ करले साना ईभीको मूल्य ३ प्रतिशतले वृद्धि हुन सक्छ ।


