काठमाडौं । अर्थ मन्त्रालयले विद्युतीय सवारी साधन (ईभी)मा लाग्ने करका दरका बारेमा स्पष्ट पारेको छ ।
सरकारले आर्थिक ऐन २०८३ मार्फत विद्युतीय कारमा अन्तःशुल्क खारेज गर्दै स्वच्छ पूर्वाधार लगानी शुल्क शिर्षकमा नयाँ कर लगाएको थियो । आर्थिक ऐनमा उक्त कर गणनामा केही अस्पष्टता देखिएको थियो । संचार माध्यमहरूले पनि फरक फरक तरिकाले समाचार सम्प्रेषण गरेको थिए ।
त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको सचिवालयले ईभीको नयाँ कर गणनाको बारेमा स्पष्ट पारेको हो ।
सचिवालयका अनुसार अब २० लाख रुपैयाँसम्मको विद्युतीय कारमा २.५ प्रतिशत स्वच्छ पूर्वाधार लगानी शुल्क लाग्नेछ । त्यसैगरी, २० देखि ३० लाख रुपैयाँसम्मका ईभीमा २० प्रतिशत, ३० देखि ४० लाख मूल्यका ईभीमा ३५ प्रतिशत, ४० देखि ५० लाख मूल्यका ईभीमा ९० प्रतिशत र ५० लाख माथिका सवारीमा १३० प्रतिशत स्वच्छ पूर्वाधार लगानी शुल्क लाग्ने भएको हो ।

यो कर भन्सार महसुल लिने प्रयोजनको लागि निर्धारण गरिएको कारोबार मूल्य (सीआइएफ)मा भन्सार महसुल समेत थप गरी कायम हुन आएको मूल्यमा लाग्ने छ ।
आर्थिक ऐन अनुसार अब स्वच्छ पूर्वाधार लगानी शुल्कसहित विद्युतीय कारमा चार शिर्षकमा कर लाग्नेछ । जसमा स्वच्छ पूर्वाधार लगानी शुल्क माथि तोकिए अनुसार लाग्ने छ । अन्य कर भने सबै कारमा भन्सार शुल्क २० प्रतिशत, सडक निर्माण दस्तुर ५ प्रतिशत र १३ प्रतिशत भ्याट लाग्नेछ ।


