नयाँ इन्जिनमा नेपाल आयो इकोस्पोर्ट, यस्तो छ मूल्य

काठमाडौं । फोर्डको नयाँ इन्जिनयुक्त इकोस्पोर्ट नेपालमा बिक्री सुरु हुने भएको छ । कम्पनीले नयाँ प्रदुषण मापदण्ड बीएस ६ अनुरुपको इकोस्पोर्ट नेपाल आउन लागेको हो ।

कम्पनीका अनुसार नयाँ इकोस्पोर्ट भन्सारमा आइसकेको छ । अबको केही दिनमा नै बिक्री सुरु गर्ने तयारी भइरहेको छ ।

‘हामीले नयाँ इनिजनयुक्त इकोस्पोर्ट ल्याएका छौं । भन्सार पास भएर आगामी हप्ता काठमाडौं आइपुग्ने छ । काठमाडौं ल्याएसँगै हामी यसको बिक्री सुरु गर्नैछौं’, जिओ फोर्डका महाप्रबन्धक सुनिल क्षेत्रीले भने ।

कम्पनीले इकोस्पोर्टपछि क्रमश फ्रिस्टाइल र फिगो ल्याउने तयारी सुरु गरिसकेको क्षेत्रीले जानकारी दिए । ‘अहिले आएका नयाँ इकोस्पोर्टको मूल्य बढाईएको छैन तर, हामी नयाँ मोडलमा डिस्काउन्ट भने दिन सक्दैनौ । डिस्काउन्ट रोकेर पुरानै मूल्यमा बिक्री गर्न लागेका हौ’ क्षेत्रीले मेरोअटोसँग भने ।

फोर्डले इकोस्पोर्टलाई विभिन्न ८ भेरियन्टमा नेपालमा बिक्री गर्दै आएको छ । इकोस्पोर्टको सबैभन्दा सस्तो मोडल पेट्रोल इन्जिनयुक्त एम्बीयन्ट हो । यसको मूल्य ३५ लाख ९० हजार रुपैयाँ तोकिएको छ । ट्रेन्ड भेरियन्टको मूल्य ३८ लाख ९९ हजार, टाइटेनियम भेरियन्टको ४३ लाख ९० हजार, थन्डर भेरियन्टको ४७ लाख ४० हजार र टाइटेनियम अटोमेटिकको ४९ लाख ९० हजार रुपैयाँ रहेको छ ।

डिजेल इन्जिनयुक्त ट्रेन्डको मूल्य ४२ लाख ९० हजार, टाइटेनियमको ४७ लाख ९० हजार र टाइटेनियम प्लस स्पोर्टसको ५६ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

फिगो, फ्रिस्टाइल र एस्पायर बीएस ६ इन्जिनमा

फोर्ड इन्डियाले आफ्नो ३ मोडल फिगो, फ्रिस्टाइल र एस्पायर बीएस ६ इन्जिनमा ल्याएको छ । कम्पनीले ल्याएको यी मोडलमा ५० हजार मारुसम्म मूल्य बढाइएको छ ।

पुरानै मूल्यमा नयाँ इको स्पोर्ट बिक्री सुरु गर्न लागेको फोर्डले नेपालीमा यी नयाँ तीन मोडल आएपछि मूल्य कसरी काम गर्छ भन्ने थाहापाउन भने केही समय कुर्न पर्ने हुन्छ ।


Back_to_top