काठमाडौं । नेपालमा विक्री हुने सबैभन्दा कम मूल्यको कम्बस्चन इन्जिन भएको मारुती सुजुकी अल्टो नयाँ जेनेरेशन मोडलमा आउने भएको छ । भारतका विभिन्न स्थानमा परिक्षणको क्रममा देखिएको नयाँ अल्टोमा धेरै कुरा परिवर्तन हुन लागेको हो ।
मारुती सुजुकीले भारतमा उत्पादन गर्ने अल्टो नेपालमा कारको रुपमा भन्दापनि ट्याक्सीको रुपमा धेरै विक्री भएको थियो । पछिल्लो दिनमा यसलाई कारको रुपमा पनि राम्रै संख्यामा प्रयोग गरेको देख्न सकिन्छ ।
सानो साइज, धेरै माइलेज र टिकाउपन यसको सबैभन्दा बलियो पक्ष हो । सन् २०२२ को मध्यसम्ममा कम्पनीले यसलाई बजारमा उतार्ने तयारी गरिरहेको छ । धेरै फिचर परिवर्तन सहित आउने मारुती सुजुकी अल्टोलाई कम्पनीले नयाँ प्लेटफर्ममा ल्याउन लागेसँगै यसको चर्चा बढ्दै गएको हो ।
तेस्रो जेनेरेशन अल्टोलाई मारुतीले आफ्नो मोडुलर हर्टटेक प्लेटफर्ममा बनाइरहेको छ । जसको कारण अहिलेको भन्दा भन्दा अल्टो अग्लो, फराकिलो र लामो ह्वीलवेसमा आउने सहजै अनुमान गर्न सकिन्छ । साथै, पहिलेभन्दा धेरै माइलेज दिने इन्जिन यसमा प्रयोग हुन सक्ने देखिन्छ ।
एसयूभी स्टाइलको ह्याचव्याक बडी डिजाइन ग्राहकले यसमा पाउन सक्नेछन् । पूर्णरुपमा नयाँ डिजाइनको फ्रन्ट ग्रिल, नयाँ हेडल्याम्प, नयाँ बम्पर, नयाँ फगल्याम्प हाउजिङ, नयाँ डिजाइनको बोनेट यसको मुख्य आकर्षण रहने छ । १३ इन्चको ह्वील, ठूलो टेलल्याम्प, अपग्रेड गरिएको पछाडिको बम्परले अल्टोलाई नयाँ लुक्स दिनेछ ।
यसको बाहिरी बनोट जस्तै इन्टेरियरमा पनि व्यापक परिमार्जन ग्राहकले पाउने अपेक्षा गरिएको छ । यसको टप भेरियन्टमा इन्फोटेन्टमेन्ट सिस्टम, कि लेस इन्ट्री, सेमी डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, दुई एयरव्याग, म्यानुयल एसी जस्ता फिचर रहने अनुमान गर्न सकिन्छ ।
अहिले बजारमा उपलब्ध अल्टोको इन्जिनलाई परिवर्तन गरेर १.० लिटर ड्यूलजेड पेट्रोल इन्जिन यसमा दिने सम्भावना धेरै देखिन्छ । प्रतिलिटर २६ किलोमिटरसम्म माइलेज दिने ड्यूलजेट थ्रि सिलिण्डर इन्जिन यसमा रहने मिडिया रिपोर्टहरुले उल्लेख गरेका छन् ।

