काठमाडौं । नेपाली बजारमा निसानको आधिकारीक वितरक पायोनियर मोटोकर्पले विक्री गर्दै आएको सब कम्प्याक्ट एसयूभी म्याग्नाइटले निकै राम्रो व्यापार गरिरहेको छ । नेपाल आएको छोटो समयमा १ हजार ३ सय यूनिटको विक्री आँकडा पुरा गर्न लागेको म्याग्नाइटको विक्रीलाई धेरैले जापनीज ब्राण्ड प्रति नेपालीको विश्वास भनेर बुझ्ने गरेका छन् ।
आकर्षक मूल्य र फिचर लोडेड रहेका कारण म्याग्नाइट यो वर्ष नेपाल आएका सफल कार भइसकेको छ । निकै सानो १.० लिटरको थ्रि सिलिण्डर टर्बो र नन्टर्बो इन्जिनमा उपलब्ध यो कार निकै बोल्ड देखिन्छ ।
अहिले भारतीय ब्राण्ड टाटाले ल्याएको माइक्रो एसयूभी पन्चले निकै धेरै चर्चा पाइरहेको छ । टाटा मोटर्सकोे अल्ट्रोजपछि अल्फा आर्क प्लेटफर्ममा बनेको दोस्रो गाडी पन्चले भारतमा निकै ठूलो सफलता पाएको छ ।
टाटा पन्चलाई नेपालको आधिकारीक वितरक सिप्रदी ट्रेडिङले आगामी महिनाबाट विक्री सुरु गर्ने जनाएको छ । ग्लोबल एनक्यापको क्रयास टेस्टमा फाइभ स्टार रेटिङ पाउन सफल रहेका कारण यो कारको चर्चा थप चुलिएको हो । टाटा मोटर्सको एच फाइभबाट प्रभावित आकर्षक लुक्स, आधुनिक फिचर र पावरका कारण पन्चले थुप्रै गाडीलाई ‘पन्च’ हान्ने अनुमान सुरु भएको छ ।
साइजमा हल्का छोटो भएपनि हामीले निसानको म्यागनाइट र टाटाको पन्चको बीचमा तुलना गरेका छौं । साइज बाहेक अन्य सबै कुरामा टाटा पन्चले म्याग्नाइटलाई कडा टक्कर दिने देखिएको छ ।
इन्जिन र पावर
निसान म्याग्नाइटमा नन्टर्बो तीन सिलिण्डर १.० लिटरको पेट्रोल इन्जिन रहेको छ, जसले ७१ हर्सपावर र ९६ एनएम टर्क जेनेरेट गर्छ । टाटा पन्चमा तीन सिलिण्डर रेभोट्रोन १.२ लिटर पेट्रोल इन्जिन रहेको छ । उक्त इन्जिनले ८५ हर्सपावर तथा ११३ एनएम टर्क जेनेरेट गर्छ ।

एआरएआईले प्रमाणित गरे अनुसार निसान म्याग्नाइटले प्रतिलिटर पेट्रोलबाट १८.७५ किलोमिटर र पन्चले १८.९७ किलोमिटर माइलेज प्रदान गर्छ । म्याग्नाइट र पन्चमा ५ स्पीडको गियरबक्स रहेको छ । इन्जिनको साइज ठूलो भएता पनि माइलेज लगभग वरावर निकाल्न सक्नु टाटा पन्चको थप विशेषता हो ।
क्याविन
दुबै कारमा पावर स्टेरिङ रहेको छ । निसान म्याग्नाइटमा ९ इन्चको टचस्कृन इन्फोटेन्मेन्ट सिस्टम रहेको छ भने, पन्चमा ७ इन्चको फ्लोटिङ इन्फोटेन्मेन्ट सिस्टम रहेको छ ।
म्याग्नाइटमा जेबीएलको साउण्ड सिस्टम रहेको छ भने पन्चमा हर्मनको साउण्ड सिस्टम छ । म्याग्नाइटको इन्स्ट्रुमेन्ट क्लस्टर फुल्ली डिजिटल रहेको छ तर, पन्चमा भने सेमी डिजिटल क्लष्टर पाउन सकिन्छ । दुबै कारमा टिल्ट एड्जस्ट गर्न मिल्ने इलेक्ट्रीक स्टेरिङ ह्वील रहेको छ । दुबै कारमा आकर्षक डिउलटोन ड्यासबोर्ड रहेको छ । म्याग्नाइटमा रियर एसी भेन्ट दिएको छ तर, पन्चमा भने पछाडिको प्यासेन्जरका लागि एसी भेन्ट छैन ।

बडी साइज
म्याग्नाइटको लम्बाई ३९९४ एमएम, चौडाइ १७५८ एमएम तथा उचाई १५७२ एमएम रहेको छ । यसको ह्वीलवेस २५०० एमएम रहेको छ भने ग्राउण्ड क्लियरेन्स २०५ एमएमको रहेको छ ।
टाटा पन्चको लम्बाई ३८२७ एमएम, चौडाई १७४२ एमएम तथा उचाई १६१५ एमएमको रहेको छ । यो कारको ह्वीलवेस २४४५ एमएम रहेको छ भने, ग्राउण्ड क्लियरेन्स १८८ एमएमको रहेको छ ।
म्याग्नाइट पन्च भन्दा १६७ एमएम लामो, १६ एमएम चौडा रहेको छ भने पन्च म्याग्नाइट भन्दा ४३ एमएम अग्लो रहेको छ । पन्चको भन्दा म्याग्नाइटको ग्राउण्ड क्लियरेन्स १३ एमएम बढी छ । म्याग्नाइटमा ३३६ लिटरको तथा पन्चमा ३६६ लिटरको बुटस्पेस पाउन सकिन्छ । दुबै कारमा १६ इन्चको टायर पाउन सकिन्छ ।
सेफ्टी फिचर
दुबै कारमा अगाडि दुई एयरव्याग, इबिडी सहितको एबीएस ब्रेकिङ सिस्टम, अगाडि चक्कामा डिसब्रेक र पछाडि चक्कामा ड्रमब्रेक रहेको छ । टाटा पन्चले ग्लोबल एनक्यापको ५ स्टारको सेफ्टी रेटिङ पाएको छ भने, निसान म्याग्नाइटले आसियान एनक्यापबाट ४ स्टारको रेटिङ पाएको छ । यसका आधारमा म्याग्नाइट भन्दा पन्च बढी सुरक्षीत रहेको छ ।

