एमजीको नयाँ एसयूभी ‘एस-५’, यस्तो हुनेछ मोटर साइज

काठमाडौं । एमजीले नयाँ इलेक्ट्रीक कम्प्याक्ट एसयूभी ल्याउने भएको छ । चिनियाँ सरकारी एजेन्सीमा दर्ता भएको नाम अनुसार ‘एमजी एस-५’ एसयूभी ल्याउने भएको हो ।

एसएआइसी ग्रुपको स्वामित्वमा रहेको मोरिस ग्यारेज (एमजी)ले ल्याउन लागेको एस-५ निकै आकर्षक देखिएको छ । यसको फ्रन्ट फेसियामा दिइएको हेडलाइट र लोअर एयर इन्टेकको बनोटले एक्स आकार दिएको छ ।

यसमा प्रयोग भएको स्प्लीट ग्रिल डिजाइनको तल्लो भाग साइबरस्टरबाट प्रेरित रहेको छ । यसको पछाडि कनेक्टेड लाइटबारसहितको एलइडी लाइट छ । अन्य पार्टस निकै क्लिन देख्न सकिन्छ ।

रिपोर्टहरुका अनुसार एस-५ मा १७ र १८ इन्चको ह्वील रहने छ । यसको लम्बाई ४४७६ एमएम, चौडाई १८४९ र उचाई १६२१ एमएम रहने छ । अहिले एमजीले बिक्री गर्दै आएको जेडएस ईभीको तुलनामा एस-५ ठूलो हुनेछ ।

एमजीले निकै स्पोर्टी बनाएर ल्याउन लागेको एसयूभीमा रियर ह्वील ड्राइभ १२५ किलोवाट पीकपावर प्रदान गर्ने मोटर रहने छ । यसको टप स्पीड क्षमता १७० किलोमिटर प्रतिघन्टा हुनेछ ।

अहिलेसम्म यसमा रहने ब्याट्री साइजको बारेमा कुनै जानकारी बाहिर आएको छैन । तर, गाडीको तौल १६१५, १६८५ र १७४० किलोग्राम रहने उल्लेख छ । यसलाई आधार मान्दा कम्तीमा दुई फरक साइजको ब्याट्रीमा एमजी एस-५ उपलब्ध हुनेछ । यसमा सीएटीएलले उत्पादन गरेको लिथियम आइरन फस्फेट ब्याट्री रहने पक्का भएको छ ।


Back_to_top