नेपाल आउने नयाँ नेक्सनमा ५० किलोवाटको मोटर !

काठमाडौं । टाटा मोटर्स इन्डियाले आफ्नो आधिकारीक वेभ साइटमा नेपाल आउने नयाँ नेक्सनको मोटर पावर बारे खुलासा गरेको छ । कम्पनीको साइटमा रहेको सूचना हेर्न यहाँ क्लिक गर्नुहोस् ।

टाटा नेक्सन नेपालमा सर्वाधिक सफल मोडल हो । कम्पनीले सन् २०२१ र २०२२ मा सर्वाधिक बिक्री गरेको नेक्सन सरकारको कर वृद्धिसँगै केही स्लो भएको थियो । चिनियाँ ब्राण्डका एसयूभी र नेक्सन एसयूभीको मूल्य लगभग उस्तै भएसँगै नेक्सनको बिक्रीमा केही कमी आएको थियो ।

टाटाले ५० किलोवाट क्षमता भित्र पर्ने गरी नेक्सन नेपाल ल्याउन लागेको कम्पनीको वेभसाइटले देखाउँछ । नेक्सन ईभी भारतमा भने ९५ किलोवाट आवरको मोटर रहेको छ ।

नयाँ नेक्सन आफ्नो डिजाइनको कारण भारतमा निकै चर्चामा रहेको छ । नेपालको आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङले भने नयाँ मोडल नेपाल कहिले आउँछ र कुन मोटर पावरमा आउँछ भन्ने कुनै जानकारी दिएको छैन ।

यस्तो छ नयाँ फेसलिफ्ट नेक्सन ईभी

फेसलिफ्ट मोडल ल्याएसँगै टाटाले नेक्सन ईभीको भेरियन्टको नाम पनि परिवर्तन गरेर क्रियटिभ, फियरलेस, इम्पावर्ड राखेको छ । साथै, यसअघि प्राइम र म्याक्समा आउने नेक्सन अब मिड रेन्ज र लङ रेन्ज नामबाट आउने छ ।

नयाँ नेक्सन ईभीको एक्टेरियर कर्भ कन्सेप्टबाट प्रेरित छ । यसको सम्पूर्ण बडी डिजाइनमा परिवर्तन गरिएको छ । अगाडि हुडको वारपार नै एलइडी लाइटबार दिएर अगाडिको फेसिया आक्रमक बनाएको छ ।

फ्यूचरिस्टीक डिजाइनबाट प्रेरित नयाँ नेक्सन ईभीमा स्प्लीट हेडल्याम्प क्लस्टर, ट्रापेजोडिया हाउजिङ, यूनिक देखिने लोअर ग्रिल सेक्सनका साथै भर्टिकल स्लाटले निकै उत्कृष्ट लुक्स प्रदान गरेको छ ।

प्रोमिनेन्ट प्लास्टीक बार, नयाँ डिजाइनको अलोय ह्वील, रिभाइज्ड फ्रन्ट बम्पर, वाई प्याटनको फुल विथ भएको टेलल्याम्प, हिडन रियर वाइपर, रुफ माउन्टेड स्पोइलर, नयाँ डिजाइनको रियर बम्पर जस्ता फिचरले यसलाई निकै आकर्षक देखाएको छ ।

यसको इन्टेरियर पनि पूर्ण नयाँ रहेको छ । कार्वन फाइबर जस्तो टेक्सचर, सफ्ट टच ड्यासबोर्ड, १२.३ इन्चको टचस्कृन इन्फोटेन्मेन्ट सिस्टम, वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो, कस्टुमाइज १०.२५ इन्चको डिजिटल इन्ट्रुमेन्ट क्लस्टर, इनुमीनेटेड लोगो सहितको नयाँ टुस्पोक स्टेरिङ ह्वीलले नेक्सनमा ब्यापक परिमार्जन भएको देखाउँछ ।

कम्पनीले यसको ब्याट्री र मोटरमा भने परिवर्तन गरेको छैन । यसको मिड रेन्ज मोडलमा ३० किलोवाट आवर र लङ रेन्ज मोडलमा ४०.५ किलोवाट आवरको ब्याट्री दिइएको छ । मोटर साइज पनि पुरानै हो ।

नयाँ नेक्सन ईभीमा सुरक्षाका लागि ६ वटा एयरव्याग, फ्रन्ट पार्किङ सेन्सर, थ्री पोइन्ट सिटबेल्ट, आइएसओ फिक्स एङ्कर, चारै चक्कामा डिस ब्रेक, एचडीसी, एचएसी, इमर्जेन्सी कल असिस्ट जस्ता फिचर छन् ।

टाटा पहिलो पटक नेक्सनमा भीटूएल र भीटुभी फिचर दिएको छ । यसको इलेक्ट्रीक मोटर पनि पहिलाको भन्दा कम तौलको छ । त्यसले रेन्ज बढ्ने कम्पनीको दावी छ ।


Back_to_top