नयाँ पन्च र नेक्सन ईभी नेपाल आउने पक्का, यस्तो छ सिप्रदीको तयारी

काठमाडौं । टाटा मोटर्सको आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङले दुई नयाँ इलेक्ट्रीक एसयूभी नेपाल ल्याउने पक्का भएको छ । कम्पनी स्रोतका अनुसार दुई महिना भित्रै दुई इलेक्ट्रीक एसयूभी फेसलिफ्ट नेक्सन र पन्च ईभी आउने भएको हो ।

भारतीय बजारमा निकै सफलताको साथ बिक्री हुँदै आएको यी दुबै मोडल मध्ये नेक्सनले सन् २०२१ देखि नै नेपालमा पनि ठूलो सफलता हात पार्दै आएको थियो । बढ्दो प्रतिस्पर्धी मोडलको कारण नेक्सनको बिक्रीमा गिरावट आएको समयमा नयाँ फेसलिफ्ट मोडल आउन लागेको हो ।

‘हामीले दुबै मोडल बजारमा ल्याउनेगरी काम अगाडि बढाएका छौं । एउटा मोडल साउन र अर्को भदौमा हुने अटो शो मार्फत बिक्री सुरु गर्ने योजना तयार पारेर अगाडि बढेका हौं’, सिप्रदी स्रोतले भन्यो ।

टाटा नेक्सन ईभी टियागोभन्दा ठूलो र बढी क्षमताको ब्याट्री भएको एसयूभी हो । भारतमा मिड रेन्ज भेरियन्टमा ३० र लङ रेन्ज मोडलमा ४० किलोवाट आवरको ब्याट्री दिइएको छ ।

टाटा पन्च ईभी पनि मिड रेन्ज र लङ रेन्ज मोडलमा उपलब्ध हुनेछ । यसको मिड रेन्जमा २५ किलोवाट आवर र लङ रेन्जमा ३५ किलोवाट आवरको ब्याट्री प्रयोग हुनेछ ।

सिप्रदीले अहिलेसम्म नेपाली बजारमा नेक्सन, टिगोर र टियागो ईभी बिक्री गर्दै आएकोमा अब पन्च ईभी पनि थपिने भएको हो । तुलनात्मक रुपमा धेरै ग्राउन्ड क्लियरेन्स र कम मूल्यमा सुरक्षीत कार खोज्नेको लागि टाटाका उत्पादन उपयोगी बन्दै आएका छन् ।

कम्पनीले नेपाल ल्याउन लागेको पन्च ईभी पनि सुरक्षाको मामलामा भारतमा उत्पादन भएका कार मध्ये सबैभन्दा धेरै अंक पाउन सफल मोडल हो । स्टायन्डर्ड भेरियन्टमा नै ६ एयरब्याग रहेको छ ।


Back_to_top