तपाईको इलेक्ट्रीक कारमा कुन मोटर छ ? यी हुन् धेरै प्रयोग हुने ३ मोटर

काठमाडौं । इलेक्ट्रीक भेहिकलको मुख्य कम्पोनेन्ट मध्ये एक इलेक्ट्रीक मोटर फरक प्रकारमा पाउन सकिन्छ । विशेषत भेहिकलको प्रकृति अनुसार मोटरहरु फरक प्रयोग हुने गरेको छ ।

विद्युतीय कार निर्माता कम्पनीहरुले सधैँ साधारण डिजाइन, उच्च पावर र कम मर्मत खर्च लाग्ने मोटर प्रयोग गर्छन् । उनिहरुको रोजाइमा कन्ट्रोल गर्न सहज र किफायती मोटर पर्छ । त्यसैले निर्माताहरुले मोटरलाई विभिन्न प्रकारमा विकास गर्ने प्रयास गरिरहेका हुन्छन् ।

इलेक्ट्रीक मोटरको मुख्य मेकानीकल पार्टस स्टेटर र रोटर हो । तामाको कोइल रहेको स्टेटरमा ब्याट्रीमा रहेको करेन्ट प्रवाह गर्दा रोटेटिङ म्याग्नेटीक फिल्ड उत्पन्न हुन्छ । त्यहि कारण मेटलबाट बनेको रोटर घुम्छ र काइनेटीक पावर उत्सर्जन हुन्छ । रोटरमा जोडिएको गियर मार्फत गाडीको चक्का घुम्छ र गाडी गुड्न थाल्छ ।

चलन चल्तीका विद्युतीय साधनमा प्रयोग भएका इलेक्ट्रीक मोटर ३ प्रकारका रहेका छन् । ब्रसलेस डीसी मोटर (बीएलडीसी), पर्मानेन्ट म्याग्नेट सिङ्क्रोनियोस मोटर (पीएमएसएम) र इन्डक्सन मोटर चल्तीका विद्युतीय साधनमा प्रयोग हुँदै आएका छन् ।

ब्रसलेस डीसी मोटर (बीएलडीसी)

ब्रसलेस मोटर ब्रसडीसी मोटरको विकसित मोडल हो । यो मोटरलाई मेन्टीनेन्स फ्रि मोटर पनि भनिन्छ । यो मोटरको रोटरमा पर्मानेन्ट म्याग्नेट जडान गरिएको हुन्छ ।

यसमा इलेक्ट्रीक पावर ब्रसमार्फत नभई इलेक्ट्रोनीकल्ली कम्युटेटरमा प्रसार हुन्छ । यो मोटरको विशेषता लो आरपीएम टर्कको साथै ९५ देखि ९८ प्रतिशतसम्म इफिसीयन्सी पाउन सकिनु हो ।

यसलाई धेरै गाडी निर्माताले प्रयोग गर्दै आएका छन् । अझ दुई पाङ्ग्रे सवारीका लागि आउट रनर टाइप धेरै प्रयोग भएको हुन्छ । यसलाई हब मोटर पनि भनिन्छ । यो मोटर सिधै स्कुटरको चक्काको हबमै रहेको हुन्छ । यसलाई थप गियरको आवश्यकता पर्दैन ।

पर्मानेन्ट म्याग्नेट सिङ्क्रोनियोस मोटर (पीएमएसएम)

यसमा पनि रोटरमा पर्मानेन्ट म्याग्नेट जडान गरिएको हुन्छ । यसको प्रमुख विशेषता भनेको हाइ पावर डेन्सीटी र हाइ इफिसीयन्सी हुनु हो । यसको रोटरमा ट्रापेजोडियल सेपको म्याग्नेटहरु रहेको हुन्छ ।

यसलाई हाइ पफर्मेन्स कारहरुमा प्रयोग गरिदै आएको छ । यो मोटर अन्य मोटरभन्दा महङ्गो हुन्छ । उक्त मोटर गियरको सहयोग विनानै फरक स्पीडमा चल्न सक्छ । धेरै अटोमोवाइल कम्पनीहरुले हाइब्रिड तथा प्योर ईभीमा यसको प्रयोग गरेका छन् ।

बीवाइडी एटोथ्री, निसान लिफ, दिपल एस०७, एमजी४, बीएमडब्लु आईथ्री, सिट्रोन ईसीथ्री जस्ता मोडलहरुमा पीएमएसएम मोटर प्रयोग भएका छन् ।

इन्डक्सन मोटर

इन्डक्सन मोटरमा अन्य मोटरको जस्तो फिक्स भोल्टेज र फिक्स फ्रिक्वेन्सी अपरेशनमा सुरुवाती टर्क धेरै हुँदैन । यसका लागि इन्डक्सन मोटरमा फिल्ड ओरियन्टेड कन्ट्रोल वा भेक्टर कन्ट्रोल मेथर्ड जस्ता विभिन्न कन्ट्रोल टेक्नीक्सहरुको प्रयोग हुन्छ ।

यी विभिन्न कन्ट्रोल प्रविधिले सुरुवाती टर्क चाहे जती पूर्याउन सकिन्छ । चलन चल्तीमा रहेको स्क्वारेल केज इन्डक्सन मोटरको एकदमै लामो आयु हुन्छ ।

इन्डक्सन मोटरको इफिसीयन्सी ९२ देखि ९५ प्रतिशतसम्म हुन्छ । यो मोटरमा जटिल प्रकारको इन्भर्टर सर्किट हुने भएकाले मेन्टीनेन्स गर्न सहज हुँदैन । टेस्लाको मोडल एस, मोडल एक्स, महिन्द्रा ईटुओ, अउडी इट्रोन, मर्सिडीज बेन्ज इक्यूसी जस्ता मोडलमा इन्डक्सन मोटरको प्रयोग भएको छ ।

यसका अलावा सुइच्ड रिलक्टेन्स मोटर, डीसी सिरीज मोटरहरु पनि कुनै कुनै कम्पनीहरुले आफ्नो हाइब्रिड तथा ईभीहरुमा प्रयोग गरेका छन् ।


Back_to_top