काठमाडौं । नेपाली बजारमा विद्युतीय कार (ईभी)को बिक्री बढेसँगै बिक्रेताहरूले नयाँ नयाँ मोडल बजारमा उतारिरहेका छन् । विशेषगरी ६० लाखदेखि ७५ लाख रुपैयाँसम्मको मूल्यमा किन्न पाइने एसयूभी बीच तीव्र प्रतिस्पर्धा चलिरहेको देखिन्छ ।
बीवाइडी एटो-३ को सुपेरियर भेरियन्टले पाएको सफलतासँगै यही सेग्मेन्टमा करिब एक दर्जन मोडल उपलब्ध हुन थालिसकेका छन् । लगभग उस्तै साइजको ब्याट्री, फरक साइजको मोटर र अन्य फिचरहरूको कारण कुन किन्दा उपयुक्त हुन्छ भन्ने एकिन गर्न उपभोक्तालाई समेत कठिन पर्ने अवस्था रहेको छ ।
अहिले बजारमा रहेको लिपमोटर सी-१०, ओमोडा ई-५, जेको जे-६, दीपल एस-०७, जीएसीको एवोन भी, एलएस अटोको एलईभी-०१, स्काइवेलको बीई-११ जस्ता मोडल ६० लाखदेखि ७५ लाख रुपैयाँ भित्रै खरिद गर्न सकिन्छ ।
मूल्य
माथि नाम उल्लेख भएका एसयूभी मध्ये सबैभन्दा कम मूल्यका किन्न पाइने मोडल हो ओमोडा ई-५ । एसपीजी अटोमोबाइल कम्पनीले यसको टप भेरियन्टको मूल्य नै ६२ लाख ४९ हजार रुपैयाँ कायम गरेको छ । यसको इन्ट्री भेरियन्ट ५५ लाख ९९ हजारमै खरिद गर्न सकिन्छ ।

बीवाइडी एटो-३ सुपेरियर भेरियन्टको मूल्य ६७ लाख ८० हजार रुपैयाँ छ । जबकी एड्भान्स भेरियन्टलाई साइमेक्स इंकले ५६ लाख ९० हजार रुपैयाँ मूल्य तोकेर बिक्री गर्दै आएको छ ।
प्रोटोन इमास-७ पनि यही सेग्मेन्टमा उपलब्ध बलियो मोडल हो । यसको टप भेरियन्टको मूल्य ६७ लाख ९९ हजार रुपैयाँ छ । जगदम्बा मोटर्सले सानो इन्ट्री भेरियन्टलाई ५६ लाख ९९ हजार रुपैयाँ तोकेर बिक्री गर्दै आएको छ ।

जीएसी एवोन भी र जेको जे-६ को मूल्य समान ६९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । एवोन ब्राण्डको एसयूभी सीजी मोटर्सले बिक्री गर्दै आएको छ । जेकोका लाइफ स्टाइल एसयूभी एसपीज अटोमोबाइलले बिक्री गर्दै आएको हो ।
साँग्रिला मोटर्स आधिकारिक बिक्रेता रहेको लिपमोटरको सी-१० एसयूभीको मूल्य पनि ६९ लाख ९९ हजार रुपैयाँ नै रहेको छ ।

एलएस अटोले बिक्री सुरू गरेको एलईभी-११ एसयूभीको टप भेरियन्टको मूल्य ६९ लाख ९५ हजार रुपैयाँ तोकिएको छ । यसको इन्ट्री भेरियन्टको मूल्य ६१ लाख ९५ हजार रुपैयाँ छ ।

जी मोटर्सले बिक्री गर्दै आएको स्काइवेल बीइ-११ को सुरूवाती भेरियन्टको मूल्य ७० लाख ९० हजार रुपैयाँ छ । एमएडब्लू वृद्धिले बिक्री गर्ने दीपल एस-०७ को मूल्य ७४ लाख ९९ हजार रुपैयाँ रहेको छ ।
ब्याट्री साइज
मूल्य अनुसार ब्याट्री साइजको महत्व निकै मानिँदै आएको छ । ब्याट्री र रेन्जको सम्बन्ध हुने भएको कारण धेरैले यसलाई प्राथमिकतामा राखेका हुन् ।
माथि उल्लेख भएका एसयूभीमा सबैभन्दा ठूलो ब्याट्री जीएसी एवोन भीमा छ । यसमा ७५.२६ किलोवाट आवरको ब्याट्री पाउन सकिन्छ । स्काई वेल बीई-११ मा ७२ किलोवाट आवर र लिपमोटर सी-१० एसयूभीमा ६९.९ किलोवाट आवरको ब्याट्री छ ।

एलएस अटोको एलइभी-११ मा ६७.१ किलोवाट आवर, दीपल एस-०७ मा ६६.८ आवरको ब्याट्री पाउन सकिन्छ । त्यसैगरी, जेको जे-६मा ६५.६९ किलोवाट आवर र अमोडा ई-५ मा ६१.०५ किलोवाट आवर क्षमताका ब्याट्री छन् ।
यी एसयूभीको दौडमा सबैभन्दा सानो ब्याट्री बीवाइडी एटो थ्रीमा र प्रोटोन इमास-७ मा छन् । एटो-३ मा ६०.४८ किलोवाट आवर र प्रोटोन इमासमा ६०.२२ किलोवाट आवरका ब्याट्री छन् ।
मोटर र रेन्ज
गाडीमा रहेको ब्याट्री, गाडीको तौल, मोटर पावर जस्ता विषयले रेन्ज तय हुन्छन् । माथि चर्चा गरिएको एसयूभीको कम्पनी अनुसारको दाबी भिन्न छन् । हाम्रै सडकमा चलाएर गरिएको टेष्टमा पनि चालक अनुसार फरक पाइएको छ । त्यसैले हामीले वर्ल्डवाइड हार्मोनाइज्ड लाइट भेहिकल टेष्ट प्रोसिडियुर (डब्लूएलटीपी) टेष्टलाई आधार बनाएर रेन्ज उल्लेख गरेका छौं ।
जीएसी एवोन भएमा १०० किलोवाटको मोटर दिइएको छ । यसलाई सिंगल चार्जमा ४८५ किलोमिटर गुडाउन सकिने डब्लूएलटीपी टेष्टले देखाएको छ ।

त्यस्तै, ९९ किलोवाटको मोटर जडान भएको ओमोडा ई-५ को रेन्ज ४३० किलोमिटर प्रमाणित भएको छ । बीवाइडी एटो-३ को रेन्ज ४२० किलोमिटर प्रमाणित छ । यसमा १०० किलोवाट क्षमताको मोटर छ ।
त्यसैगरी, लिपमोटर सी-१० को रेन्ज पनि ४२० किलोमिटर नै छ । यसमा मोटर भने ठूलो छ । यसमा १६० किलोवाटको मोटर पाउन सकिन्छ । अर्को एसयूभी दीपल एस-०७ को रेन्ज ४१० किलोमिटर छ । यसमा ९९ किलोवाट क्षमताको मोटर दिइएको छ ।

स्काइवेल बीइ-११ को रेन्ज ४१५ किलोमिटर छ । यसमा १५० किलोवाटको मोटर पाउन सकिन्छ । साथै, प्रोटोन इमास-७ को रेन्ज ४१० किलोमिटर प्रमाणित भएको छ । यसमा १६० किलोवाटको पावरफुल मोटर पाउन सकिन्छ ।

जेको जे-६ ले सिंगल चार्जमा ४०० किलोमिटर रेन्ज दिन्छ । यसमा १३५ किलोवाटको मोटर छ । एलईभी-०१ को रेन्ज ४०५ किलोमिटर छ । यसमा ९९ किलोवाट क्षमताको मोटर छ ।
तपाईंको रोजाइमा कुन ?
हरेक मानिसको गाडीलाई हेर्ने पृथक दृष्टिकोण हुन्छ । कसैलाई रेन्ज धेरै चाहिन्छ । कसैलाई मोर्डन लुक्स, कसैलाई पावरफुल गाडी चाहिन्छ । एउटै गाडीले सबैको चाहना पूरा गर्न सक्दैन ।
त्यसैले माथि उल्लेख भएका गाडी छनोट गर्ने तपाईंको आफ्नै तरिका हुन्छन् । तर, गाडी किन्नु अगाडि तपाईंले पैसा लगाउन लागेको गाडी उत्पादक को हो ? बिक्रेता को हो ? भविष्यमा सर्भिस दिन्छ वा दिन्न भन्ने कुरा एकिन गर्नु होला । त्यसपछि आफ्नो इलेक्ट्रीक एसयूभी छनोट गर्नुभयो भने पछुताउनु पर्दैन ।

