हायस भित्रै राखेर हिँड्न मिल्ने विद्युतीय कार

काठमाडौं । टोयोटा हासय भित्रै राखेर हिँड्न मिल्ने कार भने पछि धेरैले यसको साइज सहजै अनुमान गर्न सक्छन् । हायस नेपालमा पनि निकै चर्चित माइक्रो बस हो । माइक्रो बसमा राखेर हिँड्न मिल्ने माइक्रो कारको कारण जापानी अटोमोबाइल अहिले चर्चामा छ ।

विद्युतीय कारको रेसमा पछाडि देखिएको जापान अटोमोटिभ बिजनेसबाटै गायब त हुने होइन ? भन्ने प्रश्न खडा गर्नेहरू हाम्रै बजारमा प्रशस्त भेटिन्छन् । जापानी उत्पादकहरू ईभीभन्दा हाइब्रिड पावरट्रेन र हाइड्रोजन गाडी उत्पादनमा लगानी बढाइरहेका छन् । नेपाल चिनियाँ कारको ठूलो बजार बनिसकेको छ ।

यहाँ बिर्सन नसकिने कुरा के हो भने जापानले संसारलाई केही उत्कृष्ट औद्योगिक डिजाइन र अहिलेसम्मकै उत्कृष्ट उपभोक्ता ग्याजेटहरू दिएको छ । तर, विद्युतीय गाडीको कुरा आउँदा केही पछाडि परेको साँचो हो ।

ईभी उत्पादनमै जापानी कम्पनीहरूले काम नगरेका भने होइनन् । अनौठा गाडी उत्पादनमा पारङ्गत जापानी कम्पनीहरूको प्रतिनिधित्व गर्दै हिरोशिमाको एक स्टार्टअप कम्पनी केजी मोटर्सले सानो ईभी बनाएको छ । उक्त ईभी निकै स्टाइलिस छ । यो सिंगल सिटर कार हो ।

केजी मोटर्सले बनाएको मिबोट माइक्रो कारमा ७.६८ किलोवाट आवर क्षमताको ब्याट्री प्याक छ । जुन १००-भोल्ट एसी प्लगमा चार्ज गर्दा ५ घण्टामा फुल चार्ज हुन्छ । यसको टप स्पीड ३० किलोमिटर प्रतिघण्टा  छ । यसलाई सिंगल चार्जमा १०० किलोमिटर गुडाउन सकिने कम्पनीको दाबी छ ।

सानो कारको कुरा गरेपछि यसको साइजका विषयमा चर्चा हुनु स्वभाविक हो । यो एक सिटे कारको लम्बाइ २४९० एमएम, चौडाइ ११३० एमएम र उचाइ १४६५ एमएम छ । यो साइज अहिले बजारमा उपलब्ध माइक्रो कारभन्दा पनि सानो हो ।

कम्पनीले यसमा ८ इन्चको टचस्क्रीन दिएको छ । एसीको प्रयोग पनि गर्न सक्नुहुन्छ । आगामी दशकहरूमा ठूला सहरहरू र सहरी क्षेत्रहरूमा धेरै भन्दा धेरै मानिसहरू बस्ने अनुमान सहित कम्पनीले माइक्रो कार ल्याएको जनाएको छ । जसले वातावरणसँगै इन्धनको नयाँ प्रयोगलाई जोड दिन्छ ।

केजी मोटर्सले मिबोट माइक्रो कारले प्रि-अर्डरको पहिलो चरण पूरा गरिसकेको छ । कम्पनीले सन् २०२६ मा पहिलो ३ हजार कारहरू उपभोक्तालाई दिने जनाएको छ ।


Back_to_top