काठमाडौं । वाणिज्य बैंकहरूले सवारी खरिद गर्न सस्तो ब्याजदरमै ऋण दिन थालेका छन् । पछिल्लो समय अटोमोबाइल बजार क्रमशः चलायमान हुँदै गएपछि बैंकहरूले पनि सस्तो ब्याजदरमै हायर पर्चेज/अटो लोन दिन थालेका हुन् ।
विगत डेढ वर्ष यता बैंकहरूले लगातार निक्षेपको ब्याजदर घटाउँदा लागत घट्न गई बेसरेट सस्तिएको छ । बेसरेट घटेसँगै बैंकहरूले कर्जाको ब्याजदर पनि घटाएका हुन् ।
अहिले वाणिज्य बैंकहरूको औसत बेसरेट ६.४७ प्रतिशतमा झरेको छ । यो पछिल्लो ३ वर्ष यताकै सस्तो हो । बैंकहरूले अहिले बेसरेटमा न्यूनतम ०.५ प्रतिशतदेखि अधिकतम ५ प्रतिशतसम्म प्रिमियम जोडेर अटो कर्जा दिइरहेका छन् । बेसरेट सस्तिएकाले अहिले न्यूनतम ७ प्रतिशत हाराहारीमा ऋण पाउने अवस्था छ ।
केही बैंकले सस्तो ब्याजदरको कर्जा योजना समेत ल्याएका छन् । अटो लोन स्कीम नल्याएका बैंकहरूले पनि बेसरेटमा न्यूनतम १/१.५ प्रतिशत प्रिमियम जोडेर सस्तो ब्याजमै सवारी खरिदका लागि ऋण उपलब्ध गराइरहेका छन् ।
बार्गेनिङ गर्न सक्ने ग्राहकले अहिले ७/८ प्रतिशतमै सवारी कर्जा पाउने अवस्था छ । विगतमा १६/१७ प्रतिशतसम्म पुगेको सवारी कर्जाको ब्याजदर अहिले औसतमै ९ प्रतिशत हाराहारी छ भने अधिकतम ब्याजदर १२ प्रतिशत मात्र छ ।
बैंकहरूले अटो लोनमा पनि विद्युतीय सवारीसाधनलाई प्राथमिकतामा राखेका छन् । कम्बस्चन गाडीको तुलनामा विद्युतीय सवारी खरिद गर्नेले केही सस्तो ब्याजदरमा ऋण पाउँछन् । यद्यपि, राष्ट्र बैंकले गत महिना ईभीको लोन टु भ्यालु रेसियो ८० प्रतिशतबाट घटाएर ६० मा झारेको थियो । यसले डाउनपेमेन्ट गर्नुपर्ने रकम भने बढाएको छ ।
बैंकहरूले हाल परिवर्तनशील (फ्लोटिङ) र स्थिर (फिक्सड) गरी दुई किसिमको ब्याजदरमा अटो लोन दिइरहेका छन् । फिक्सड ब्याजदर केही महँगो हुन्छ । तर, यो कम्तीमा ५ वर्षसम्म परिवर्तन हुँदैन । बैंकहरूले हाल ८.९९ प्रतिशतदेखि १२.५ प्रतिशत स्थिर ब्याजदरमा अटो कर्जा दिइरहेका छन् ।
त्यस्तै, फ्लोटिङ ब्याजदर केही सस्तो छ । तर, यो बेसरेट बढे बढ्ने र घटे घट्ने गर्छ । हाल बैंकहरूले बेसरेटमा ०.५ प्रतिशतदेखि ४.५ प्रतिशतसम्म प्रिमियम जोडर अटो कर्जा दिएका छन् ।
कुन बैंकले कति ब्याजदरमा दिन्छन् ऋण ?
कुन बैंकबाट सस्तोमा ऋण पाइन्छ भन्ने कुरा सम्बन्धित बैंकको बेसरेटले निर्धारण गर्छ । बेसरेट थोरै भएका बैंकबाट सस्तोमा ऋण पाइन्छ भने बेसरेट धेरै भएका बैंकबाट तुलनात्मक रूपमा केही महँगो पर्छ ।
हाल २० वाणिज्य बैंकमध्ये स्ट्याण्डर्ड चार्टर्ड बाहेक अरू सबै बैंकले अटो कर्जा लगानी गर्छन् । जसमा सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्यले सबैभन्दा कम ५.२८ बेसरेटमा २ देखि ३.५ प्रिमियम जोडर ७.२८ देखि ८.७८ प्रतिशत ब्याजदरमै अटो कर्जा दिन्छ ।
त्यस्तै, एभरेष्ट, नेपाल, नबिल, कृषि विकास र ग्लोबल आइएमईबाट पनि तुलनात्मक रूपमा सस्तो ब्याजदरमा सवारी कर्जा पाइन्छ । यी बैंकको बेसरेट साढ ६ प्रतिशतभन्दा कम छ । न्यूनतम १ प्रतिशत प्रिमियम जोडर साढे ७ प्रतिशत हाराहारीमा अटो कर्जा दिन सक्छन् ।
त्यस्तै, एनएमबी, सानिमा, सिद्धार्थ, हिमालयन, नेपाल एसबीआई, लक्ष्मी सनराइज, प्रभु, सिटिजन्स बैंकको बेसरेट ६.५ देखि ७ प्रतिशतको बीचमा छ । यी बैंकको पनि बार्गेनिङ गर्न सक्ने ग्राहकलाई न्यूनतम १ प्रतिशत प्रिमियम जोडर ८ प्रतिशत हाराहारी ब्याजदरमै ऋण दिइरहेका छन् ।
तुलनात्मक रूपमा प्राइम कमर्शियल र एनआइसी एशियाबाट अटो कर्जा लिँदा महँगो पर्छ । यी दुवै बैंकको बसेरेट ७ प्रतिशत माथि रहेकाले अन्यको तुलनामा ब्याजदर केही महँगो पर्ने छ । एनआइसीले अधिकतम ४.५ प्रतिशत र प्राइमले ५ प्रतिशत प्रिमियम जोडेर अटो कर्जा दिने बताएका छन् । न्यूनतम प्रिमियम सीमा भने तोकेका छैनन् ।