काठमाडौं । निसानको आधिकारीक वितरक पायोनियर मोटोकर्पले निसानको पहिलो विद्युतीय कार लिफ नेपाल ल्याउने भएको छ । कम्पनीले भोलि बुधबार यसको मूल्य घोषणा गर्दै बुकिङ खुल्ला गर्ने भएको हो ।
नेपाल सरकारले विद्युतीय कारमा लाग्ने अन्तःशुल्क हटाउँदै भन्सार शुल्कमा पनि कटौती गरेसँगै निसानले लिफ नेपाल ल्याउन लागेको हो । यसअघि पनि कर बढेकै अवस्थामा निसानले २०२१ अप्रिलबाट लिफ नेपालमा उपलब्ध गराउने घोषणा गरेको थियो ।
निसान लिफ सन् २०१० देखि नै विश्वबजारमा विक्री हुँदै आएको विद्युतीय कार हो । अन्तर्राष्ट्रिय बजारमा सिंगल मोडलमा सर्वाधिक विक्री आँकडा बनाएको लिफ ४ लाख ४० हजार यूनिटभन्दा धेरै विक्री भइसकेको छ ।
नेपाल आउन लागेको निसान लिफ एस र एसभीगरी २ भेरियन्टमा उपलब्ध हुने अनुमान गरिएको छ तर, आधिकारीक रुपमा पायोनियर मोटोकर्पले कुनै जानकारी दिएको छैन । नेपाल आउने लिफमा ४० किलोवाट आवरको व्याट्री र ११० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर जडान भएको कम्पनी स्रोतले जनाएको छ ।

निसान लिफलाई एक पटकको फुल चार्जमा ३६३ किलोमिटर गुडाउन सकिने कम्पनीले जनाएको छ । तर, सडकको अवस्था, वातावरण जस्ता विषयले यसको रेञ्ज निर्धारण हुने हुँदा करिब ३०० किलोमिटर रेञ्ज आउने अनुमान गर्न सकिन्छ ।
कारमा व्याट्री बचतको लागि विभिन्न तीन ड्राइभिङ मोड उपलब्ध रहेको छ । ईको मोडमा कार चलाउदा सामान्यभन्दा १० प्रतिशत बढी रेञ्ज आउने कम्पनीले दाबी गरेको छ ।
यसमा दिइएको व्याट्रीलाई घरायसी विद्युतवाट ३ किलोवाट क्षमताको एसी चार्जरले चार्ज गर्दा करिब १६ घन्टा लाग्ने छ भने, ६ किलोवाट चार्जर प्रयोग गर्दा ८ घन्टामा फुलचार्ज गर्न सकिने छ । यसलाई डिसी फास्ट चार्जरले चार्जगर्दा ८० प्रतिशतसम्म चार्ज गर्न ६० मिनेट लाग्ने छ ।
निसान लिफको मूल्य ६० देखि ६१ लाखको बीचमा रहने अनुमान गर्न सकिन्छ ।

