काठमाडौं । कोभिड १९ को दोस्रो लहरले बन्द भएको बजार खुल्दै गएको छ । बजार खुलेसँगै अटोमोवाइल व्यवसायमा पनि चहलपहल सुरु भएको छ । बजार खुलेसँगै नयाँ मोटरसाइकल किन्ने ग्राहकलाई नयाँ मोडल र अफर दिन कम्पनीहरु लागि परेका छन् ।
विभिन्न कम्पनीहरुले नयाँ नयाँ उत्पादन भित्र्याउन सुरु गरिकेका छन् । होन्डाले मात्र दुई नयाँ मोडलमा मोटरसाइकल नेपाल ल्याएको छ । एउटा मोडलको आधिकारीक विक्री सुरु गरेको छ भने अर्को मोडल शोरुममा डिस्प्ले गरेको छ । अन्य कम्पनीहरु पनि छिट्टै नयाँ मोटरसाइकल ल्याउने क्रममा रहेका छन् ।
कोभिडका कारण लामो समय बन्द भएको व्यापारमा ग्राहकलाई आकर्षित गर्न धेरै जसो कम्पनीहरुले स्कीम संचालन गरेका छन् ।
बजाज मोटरसाइकलको आधिकारिक विक्रेता कम्पनी हंशराज हुलासचन्द एण्ड कम्पनीले नयाँ स्कीम ल्याएको छ । कम्पनीले ल्याएको स्कीममा मोटरसाइकल किन्दा व्याज नलाग्ने तथा नगद छुट पाउन सकिन्छ । शून्य प्रतिशत व्याजमा मोटरसाइकल किन्न चाहने ग्राहकले ५० प्रतिशत डाउनपेमेन्ट गनुपर्ने हुन्छ । त्यस्तै नगदमा मोटरसाइकल किन्न चाहाने ग्राहकले १० हजार नगद छुट प्राप्त गर्न सक्ने छन् ।
त्यसैगरी एमएडब्लु इन्टरप्राइजेज्ले हरेक यामाका स्कुटर तथा मोटरसाइकलको खरिदमा नगद ८ हजार छुट वा शून्य प्रतिशत डाउनको सुविधा दिइरहेको छ । ५० प्रतिशत डाउन पेमेन्ट गर्न नसक्ने ग्राहकको लागि कम डाउन पेमेन्टमा पनि मोटरसाइकल किन्न सक्ने स्कीम यामाहाले संचालन गरिरहेको छ ।
त्यस्तै, टीभीएसको आधिकारिक विक्रेता जगदम्वा मोटर्सले नगदमा स्कुटर किन्नेका लागि ६ हजार र मोटरसाइकलमा ८ हजार छुट दिने स्कीम ल्याएको छ । यसका अलावा ५० प्रतिशत डाउन पेमेन्ट गरेर बिना ब्याजमा मोटरसाइकल तथा स्कुटर खरिद गर्न सक्नेछन् ।
होन्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले होन्डाको कुनै पनि मोटरसाइकल तथा स्कुटरको खरिद गर्दा ४ हजार ५०० रुपैयाँ नगद छुट प्रदान गर्ने स्कीम ल्याएको छ । यसका साथै ग्राहकले शून्य प्रतिशत डाउन पेमेन्टमा मोटरसाइकल किन्न सक्ने योजना समेत रहेको छ ।
यसका अलाव अन्य कम्पनीहरुले समेत स्कीमहरु सार्वजनिक गरिरहेका छन् । धेरै जसो कम्पनीले ५० प्रतिशत डाउन पेमेन्ट गर्दा शून्य प्रतिशत व्याजमा मोटरसाइकल खरिद गर्न सकिने स्कीम दिइरहेका छन् । त्यस्तै नगदमा मोटरसाइकल तथा स्कुटर किन्न चाहने ग्राहकका लागि ५ देखि १० हजार रुपैयाँसम्म नगद छुट दिदैँ आएका छन् ।
अहिले कम्पनीहरुले दिइरहेको स्कीममा सवैभन्दा सफल ५० प्रतिशत डाउन पेमेन्ट र १८ महिनामा किस्ता तिर्दा व्याज तिर्नु नपर्ने योजना सफल भएको कम्पनीहरुको भनाई छ । एकै पटक पुरै रकम पनि तिर्नु नपर्ने र व्याजपनि नलाग्ने कारण यो स्कीम धेरैको रोजाईमा परेको हो ।

