म्याग्नाइटलाई थ्रेट बन्ला त सीथ्री ? मूल्यदेखि फिचरसम्मको तुलना

काठमाडौं । सिट्रोनको आधिकारीक विक्रेता साँग्रिला मोटर्सले गत साता सिट्रोन सीथ्रीको बिक्री सुरु गरेसँगै बजारमा नयाँ प्रतिस्पर्धा सुरु भएको छ । सिट्रोन सीथ्रीको बिक्री सुरु गरेसँगै निसान म्याग्नाइट र रेनो काइगर जस्ता मोडलसँग प्रतिस्पर्धा हुन लागेको हो ।

सिट्रोन सीथ्रीको नेपालमा दुई भेरियन्ट मात्रै उपलब्ध रहेको छ । जसमा लिभ र फिल भेरियन्ट हो । तर, पायोनियर मोटोकर्पले बिक्री गर्दै आएको निसान म्याग्नाइट विभिन्न ४ भेरियन्टमा पाउन सकिन्छ । जसमा एक्सई, एक्सएल, एक्सभी र एक्सभी प्रिमियम भेरियन्ट छन् ।

धेरै भेरियन्ट भएको कारण निसान म्याग्नाइटमा मूल्य विविधता पाउन सकिन्छ भने सीथ्री दुई भेरियन्ट मात्रै छन् । फिचर्स र साइजका हिसाबले दुबै गाडी लगभग समान छन् ।

साइज र ग्राउन्ड क्लियरेन्स

निसान म्याग्नाइटको लम्बाई ३९९४ एमएम, चौडाई १७५८ एमएम र उचाई १५७२ एमएम रहेको छ । यसमा २५०० एमएम ह्वीलवेस पाउन सकिन्छ ।

सिट्रोन सीथ्रीको लम्बाई भने ३९८१ एमएम छ, जुन केवल १३ एमएम छोटो छ । यसको चौडाई १७३३ एमएम र उचाई रुफरेलसहित १६०४ एमएम अग्लो छ । यसमा म्याग्नाइटको तुलनामा २५४० एमएम लामो ह्विलबेस छ ।

म्याग्नाइटको ग्राउण्ड क्लियरेन्स २०५ एमएम छ भने सिट्रोन सिथ्रीको ग्राउण्ड क्लियरेन्स १८५ एमएम पाउन सकिन्छ ।

इन्जिन

सिट्रोन सीथ्रीमा १.२ लिटर नेचुरल्ली एस्पीरेडेड इन्जिन रहेको छ । भारतमा १.२ लिटर टर्बो इन्जिन भएपनि नेपाल आएको छैन । नेपाल आएको १.२ लिटर इन्जिनले अधिकतम ८२ एचपी पावर र ११५ एनएम टर्क प्रदान गर्छ ।

त्यसैगरी, निसान म्याग्नाइटमा भने १.० लिटर क्षमताको दुई इन्जिन अप्सन पाउन सकिन्छ । यसमा नेचुरल्ली एस्पीरेटेड र टर्बाे इन्जिन उपलब्ध छ ।

निसान म्याग्नाइटको अटोमेटिक भर्सन किन्न चाहने ग्राहकले सिभीटी गियरबक्स पाउने छन् । साथै, यसमा ५ स्पीड म्यानुयल गियरबक्स पनि रहेको छ ।

माइलेज

एआरएआईले प्रमाणित गरे अनुसार निसान म्याग्नाइटले प्रतिलिटर १८.७५ किलोमिटर र सिट्रोन सीथ्रीले भने प्रतिलिटर १९.८ किलोमिटर माइलेज प्रदान गर्छ ।

फिचर

‘बिग, बोल्ड र ब्युटिफुल’ नारासहित सार्वजनिक भएको निसान म्याग्नाइट स्पोर्टी लुक्स, एलईडी हेडल्याम्प, एलइडी डीआरएल, फ्लोटिङ्ग रुफ, ड्यूल टोन बडी पेन्ट, ड्यूलटोन रियर बम्पर जस्ता विशेषता रहेको एसयूभी हो ।

निसान म्याग्नाइटमा अराउन्ड भ्यू मोनिटर, ७ इन्चको फुल डिजिटल इन्स्ट्रुमेन्ट क्लष्टर, मोबाइल होल्डरको साथ रियर आर्मरेष्ट, वायरलेस एन्ड्रोइड अटो र एप्पल कार प्ले, इको फङ्सन, कलर र वेलकम एनिमेशन जस्ता फिचर पाउन सकिन्छ ।

कारमा दिइएको लाइटहरु सबै एलइडी प्रयोग गरिएको छ भने ७ इन्चको फुल डिजिटल इन्ट्रुमेन्ट क्लष्टर र ८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टमले ड्यासबोर्डलाई आकर्षक बनाएको छ ।

सिट्रोन सीथ्री भने धेरै हदसम्म सिट्रोन सी फाइभबाट प्रेरित डिजाइन र फिचर पाउन सकिन्छ । यसमा स्प्लीट हेडल्याम्प क्लष्टर, हेग्जागोनल एयर इन्टेक, विभिन्न स्थानमा दिइएको कलर इन्सर्ट, कालो कलरमा बडी क्ल्याडिङ, विभिन्न ६ कलर अप्सन, भेरियन्ट अनुसार १५ इन्चको स्टील र अलोय ह्वील अप्सन पाउन सकिन्छ ।

सीथ्रीमा पनि इन्फोटेन्टमेन्ट सिस्टम लगायतका सम्पूर्ण फिचर पाउन सकिन्छ । फराकिलो लाग्ने क्यावीन, क्लीन ड्यासबोर्ड, मल्टी फङ्गशनल स्टेरिङ ह्वील पाउन सकिन्छ ।

सेफ्टी फिचर्स

पछिल्लो पटक सार्वजनिक हुने गाडीहरुमा प्यासेन्जर ड्राइभर सुरक्षाका लागि विशेष केन्द्रित गरिएका छन् । यसका लागि कम्पनीहरुले फ्रन्ट ड्राइभर प्यासेन्जर एयरब्याग, ईबिडी सहितको एबिएस, रियर पार्किङ सेन्सर, सिट बेल्ट रिमाइन्डर, इन्जिन इमोबिलाइजर, स्पिड सेन्सेटिभ अटो डोर लक लगायतका सेफ्टी फिचर्स गाडीमा दिइएको हुन्छ ।

सिट्रोन सीथ्रीमा रियर डोर म्यानुअल चाइल्ड लक, हाई स्पीड अलर्ट सिस्टम जस्ता सेफ्टी सुविधा छन् । म्याग्नाइटमा आइसोफिक्स, भेहिकल डाइनामिक कन्ट्रोल, ट्रयाकसन कन्ट्रोल सिस्टम, टायर प्रेसर मनिटरिङ सिस्टम, हिल स्टार्ट असिस्ट, ह्यान्ड्स फ्री, इम्प्याक्ट सेन्सीङ अनलक लगायत पाउन सकिन्छ ।

मूल्य

प्रिमियम ह्याचव्याक सिट्रोनको टप भेरियन्टको लिभको मूल्य ३४ लाख ४९ हजार र फिलको मूल्य ३६ लाख ४९ हजार रुपैयाँ रहेको छ । तर, म्याग्नाइटको सुरुवाती मूल्य ३३ लाख ९९ हजारदेखि ४८ लाख रुपैयाँसम्म छ ।


Back_to_top