निगमले भन्यो-‘कच्चाभन्दा प्रशोधित तेल महँगो हुन्छ, भ्रममा नपरौं’

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पद्धार्थको मूल्यलाई लिएर भ्रममा नपर्न उपभोक्तालाई अनुरोध गरेको छ ।

निगमले कच्चा तेलको मूल्यलाई आधार बनाएर नेपालमा पेट्रोलियम पद्धार्थ महँगिएको भन्दै आमउपभोक्तालाई भ्रममा पार्ने प्रयास भएको भन्दै आपत्ति जनाएको हो । उक्त भ्रामक हल्लामा कुनै सत्यता नरहेको निगमले स्पष्ट पारेको छ ।

निगमले अन्तर्राष्ट्रिय मूल्यका आधारमा स्थानीय बजारमा खुद्रा बिक्री मूल्य निर्धारण हुँदै आएको जनाएको छ । नेपालसँग आफ्नै ‘रिफाइनरी’ नहुँदा कच्चा तेल आयात नगरी सोझै प्रशोधित पेट्रोल र डिजेल आयात गर्नुपर्ने बाध्यता रहेको निगमको भनाइ छ ।

निगमका प्रवक्ता मनोज ठाकुरले क्रुड आयलभन्दा प्रशोधित इन्धनको मूल्य स्वाभाविक रूपमा बढी हुने बताए । ‘क्रुड आयलभन्दा प्रशोधित इन्धनको मूल्य स्वाभाविक रूपमा बढी हुन्छ, त्यसैले मूल्य तुलना गर्दा क्रुड होइन, प्रशोधित पेट्रोलियम पदार्थकै अन्तर्राष्ट्रिय मूल्य हेर्नुपर्छ,’ उनले भने ।

निगमले इन्डियन आयल कर्पोरेसन (आइओसी)बाट पेट्रोलियम पदार्थ आयात गर्दै आएको छ । आइओसीबाट प्राप्त प्रशोधित पेट्रोल र डिजेलको खरिद मूल्यका आधारमा नेपालमा प्रत्येक १५/१५ दिनमा मूल्य समायोजन हुँदै आएको छ ।

निगमले उपलब्ध गराएको तथ्यांक अनुसार १६ अप्रिल २०२६ मा क्रूड आयलको मूल्य प्रतिब्यारेल ९९.६ अमेरिकी डलर, पेट्रोल १३९.३ डलर र डिजेल २२८.१ डलर थियो । यस अवधिमा सबैभन्दा उच्च मूल्य २ अप्रिल २०२६ मा पुगेको थियो, जहाँ क्रूड आयल ११८.३ डलर, पेट्रोल २६२.० डलर र डिजेल ३३४.४ डलर प्रति ब्यारेल पुगेको देखिन्छ ।

सामान्य अवस्थामा क्रुड आयल र पेट्रोल बीच करिब १० डलर तथा क्रुड आयल र डिजेल बीच करिब २० डलरको अन्तर रहने गर्छ । पछिल्लो अन्तर्राष्ट्रिय परिस्थितिमा यो अन्तर क्रमशः करिब १४४ डलर र २१६ डलरसम्म पुगेको निगमले जनाएको छ । यसले प्रशोधित इन्धन आयात गर्ने मुलुकहरूमा मूल्यवृद्धिको दबाब थप बढाएको निगमको भनाइ छ ।

निगमका अनुसार भन्सार, कर, ढुवानी, बीमा, भण्डारण र सेवा शुल्कजस्ता पक्षहरूले पनि अन्तिम खुद्रा मूल्य निर्धारणमा प्रभाव पार्नेछ ।

निगमले वैशाख ३ गतेदेखि नेपालमा डिजेल/मट्टितेलमा प्रतिलिटर ३० रुपैयाँ र हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ वृद्धि गरेको थियो । मूल्य वृद्धिपछि पनि डिजेलमा प्रतिलिटर ९९.१६ रुपैयाँ घाटा रहेको निगमको भनाइ छ ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा दैनिक बढोत्तरी आउँदा १५ दिनमा करिब ५ अर्ब ७५ करोड घाटा हुने निगमले जनाएको छ ।


Back_to_top