नेपाल आएर विक्री सुरु नभएको ईभीले पायो सुरक्षामा ५ स्टार रेटिङ

काठमाडौं । ग्रेटवाल मोटर्सको आधिकारीक विक्रेता भीजी इम्पेक्सले नेपाल ल्याएपनि विक्री सुरु नभएको इलेक्ट्रीक कार ओरा गुड क्याटले यूरोपियन एनक्याप क्र्यास टेष्टमा फाइभ स्टार रेटिङ पाएको छ ।

ओरा गुड क्याटको क्र्यास टेस्ट गर्दा एडल्ट प्यासेन्जरको सुरक्षामा ८३ प्रतिशत, बच्चा प्यासेन्जरको सुरक्षामा पनि ८३ प्रतिशत र सडक प्रयोगकर्ताको सुरक्षामा ७४ प्रतिशत अंक पाएको हो । गुड क्याटसँगै ओराको वे कफी ०१ मोडलको एसयूभीले पनि फाइफ स्टार नै रेटिङ पाएको थियो ।

क्लासिक डिजाइनमा तयार भएको गुड क्याट यूरोपियन डिजाइन र चिनियाँ टेक्नोलोजीको मिश्रण हो । ४२३५ एमएमको लम्बाई, १८२५ एमएम चौडाई र १५९६ एमएम उचाई रहेको कारमा २६५० एमएमको ह्वीलवेस पाउन सकिन्छ ।

बिरालोको जस्तो गोलो हेडलाइट र त्यसको वरिपरी दिइएको एलइडी डे टाइम रनिङ लाइटको साथै त्यसैमा दिइएको साइड इन्डिकेटरले यसको ‘क्लासिक नेस’लाई प्रदर्शित गरेको छ ।

बाहिर डिजाइनसँगै यसको भित्री बनोट पनि लोभलाग्दो छ । ड्यूलटोन कलरमा सजाइएको ड्यासबोर्ड, ड्यासबोर्डमा दिइएको ठूलो टचस्कृन, पूर्ण डिजिटल इन्ट्रुमेन्ट क्लष्टरले आकर्षण थपेको छ । त्यस्तै क्लासिक थिममा दिइएका एसी कन्ट्रोल नब, पानारोमिक सनरुफ, वायरलेस चार्जर जस्ता सुविधाले चालक र यात्रुलाई फरक फिल दिन्छ ।

गुड क्याटमा १०५ किलोवाट पीक पावरको मोटर छ । जुन अधिकतम १४० हर्सपावर र २१० न्यूटन मिटर टर्क प्रदान गर्न सक्षम छ ।

भीजी इम्पेक्सले नेपाल ल्याएको गुड क्याटको लो भेरियन्टमा ४७.७ किलोवाट आवर र हाई भेरियन्टमा ६३.१ किलोवाट आवर क्षमताको ब्याट्री रहेको छ । जसको रेन्ज क्रमशः ४०१ र ५०१ किलोमिटर रहने कम्पनीको दावी छ ।


Back_to_top