विटलको डिजाइनमा नयाँ इलेक्ट्रीक कार, विटलभन्दा सस्तो हुने

काठमाडौं । चिनियाँ सवारीसाधन निर्माता कम्पनी ग्रेटवाल मोटर्सले फक्सवागन विटलबाट प्रेरित नयाँ इलेक्ट्रीक कार ल्याउने भएको छ । कम्पनीले अहिले विक्री गर्दै आएको ओरा ब्राण्डमा विटलको डिजाइनबाट प्रेरित नयाँ इलेक्ट्रीक कार ल्याउन लागेको हो ।

तर, ग्रेटवाल मोटर्सले यसलाई अस्विकार गरेको छ । यहि महिना संघाई अटो शोमा प्रदर्शन गर्ने तयारी भइरहेको ओराको नयाँ एसयूभीको नाम सार्वजनिक भएको छैन । इन्टरनेटमा सार्वजनिक भएको तस्विरबाट नयाँ इलेक्ट्रीक कार आउने पुष्टि भने भइसकेको छ ।

ग्रेटवाल मोटर्सले आफ्नो विद्युतीय कारहरु ओरा ब्राण्डमा उत्पादन गर्दै आएको छ । सन् २०१८ बाट ओरा १ इन्ट्री लेभल कारको रुपमा विक्री गर्दै आएको ग्रेटवालले अर्को नयाँ मोडल थप गर्न लागेको हो ।

ओरा १ नेपाल आउने तयारी भइरहेको छ । नेपालको लागि आधिकारीक वितरकमा भिजी इम्पेक्सलाई तोकिएको छ । कम्पनीले अबको केहि महिना भित्रै ग्रेटवाल मोटर्स अन्तर्गतका हाभल, ओरा र ग्रेटवाल ब्राण्ड नेपालमा सार्वजनिक गर्दैछ ।

कम्पनीले ल्याउने नयाँ ओरा कारको इन्टेरियर रेट्रो थिमको प्रयोग गरिएको अनुमान गरिएको छ । यसमा राउन्ड थ्रि स्पोक मिनिमम स्टेरिङ, राउन्ड एयर भेन्ट, राउन्ड इन्ट्रुमेन्ट क्लष्टर जस्ता फिचर उपलब्ध हुने छन् ।

कम्पनीले यसमा दिएको व्याट्री, मोटर, रेञ्जको विषयमा भने कुनै जानकारी दिएको छैन । यसको मूल्य विटलको तुलनामा कम हुने अनुमान गरिएको छ ।


Back_to_top