काठमाडौं । नेपाली बजारमा धमाधम नयाँ मोटरसाइकल तथा स्कुटरका ब्रान्डहरु थपिएका छन् । अहिले बाइकसँगै स्कुटरको मागसमेत हरेक वर्ष बढ्दै गइरहेको छ । त्यसमा पनि ग्राहकको रोजाई तथा मागलाई ध्यानमा राख्दै विभिन्न कम्पनीहरूले उच्च मूल्यका बाइक र स्कुटर बिक्री गरिरहेका छन् ।
हरेक तीन महिनामा आफुहरुले बिक्री गर्ने सवारीसाधनको मूल्य सार्वजनिक गर्दै आएका नाडाका सदस्यहरुले भर्खरै मूल्यसूची सार्वजनिक गरेका छन् । उक्त सूचीबाट हामीले नेपाली बजारमा उपलब्ध महङ्गा स्कुटरको बारेमा जानकारी दिने प्रयास गरेका छौं ।
भेष्पा
नेपालको लागि भेष्पाको आधिकारीक वितरक डी–लाइफ स्टाइल प्राइभेट लिमिटेडले अन्य कम्पनीको तुलनामा महङ्गो स्कुटर बेच्दैआएको छ । यसले नेपाली बजारमा बिक्री–वितरण गर्दैआएको अधिकांश स्कुटरको मूल्य २ लाख ५० हजारभन्दा माथि रहेको छ ।

कम्पनीले बिक्री गर्दैआएको भीएक्सएल एलिजेन्ट–१५० सीसी स्कुटरको मूल्य ३ लाख ९५ हजार ९ सय ४६ रुपैयाँ रहेको छ । यो कम्पनीको सबैभन्दा महङ्गो स्कुटर हो । यसमा उपलब्ध इन्जिनले ७ हजार आरपीएममा ११.६ बीएचपी पावर उत्पादन गर्नुकासाथै ७ हजार आरपीएममा ११.५ एनएम–टर्क उत्पादन गर्छ ।
त्यस्तै, १५० सीसीको सेग्मेन्टअन्तर्गत एक्सएल म्याट–रेड र पहेलो रङ्गका स्कुटरको मूल्य ३ लाख ७० हजार ९ सय ४६ रहेको छ । कम्पनीको लाइनअपमा रहेका महङ्गा स्कुटरमा भीएक्सएल–१२५, एसएक्सएल, भीएक्सएल–१५० लगायतका मोडल रहका छन् । यसको सबैभन्दा सस्तो मोडल एलएक्स–१२५ को मूल्य २ लाख ५९ हजार ९ सय ४६ रुपैयाँ रहेको छ ।
अप्रिला
इटलीयन ब्रान्डको अप्रिलाले एसआर १५० स्कुटर नेपाली बजारमा बिक्री वितरण गर्दै आइरहेको छ । यो पावरफुल स्कुटरको मूल्य २ लाख ७६ हजार ९०० रुपैयाँ रहेको छ ।

यसमा १५४.८ सीसीको सिगंल सिलिन्डर, ३ भल्भको इन्जिन रहेको एप्रिला एसआर १५०ले ६७५० आरपीएममा १०.२ पीएस पावर तथा ५००० आरपीएमा १०.९ एनएम टर्क जेनेरेट गर्छ । यो स्कुटर को उच्चगति १०१ किलोमिटर प्रतिघन्टा रहेको छ ।
टीभीएस
टीभीएसका लागि नेपालको आधिकारीक वितरक जगदम्बा मोट्र्सले सबैभन्दा महङ्गो मध्यको एक स्कुटर एनटर्कको बिक्री–वितरण गर्दैआएको छ । नाडा अटो शो २०१८ सार्वजनिक भएको यस स्कुटरको मूल्य २ लाख २४ हजार ९ सय रहेको छ ।
युवावर्गका लागि लक्षित गरेर डिजाइन गरिएको एनटर्क स्कुटरमा टीभीएस रेसिङ्ग प्लेटफर्मकासाथै ३ भल्ब इन्जिनयुक्त रहेको छ । एनटर्क १२५ टेक्नोलोजी प्लेटफर्म टीभीएस स्मार्ट कनेक्टले यो स्कुटरलाई कनेक्टेड स्कुटरमा परिभाषित गरेको छ ।

टीभीएस एनटर्क १२५ नेपालमा आएको पहिलो स्मार्ट टेक्नोलोजि यूक्त स्कुटर रहेको छ । यसमा चालकले आफ्नो स्मार्टफोन कनेक्ट गरि फोनकल, एसएमएस तथा जीपीएस सेवासमेत प्रयोग गर्न सक्ने छन् । स्कुटरमा स्पोर्ट मोड दिइएको छ, जसले रेसिङ डाटा, ल्याप समय स्क्रिनमा देख्न सकिन्छ । ३ ट्रिप मीटर, फ्यूल लेवल, स्पीड, इन्जिन टेम्परेचर, र घडीजस्ता फीचर्सहरु नर्मल मोडमा पाइन्छ । यसमा १२६.७९ सीसीको सिङ्गल सिलिन्डर, फोर–स्टोर्क, ३ भल्व एयरकूल्ड इन्जिन रहेको छ । यसले ७५०० आरपीएममा ९.४ पीएस र ५५०० आरपीएममा १०.५ एनएम–टर्क जेनेरेट गर्छ । टीभीएसका अन्य स्कुटर लाइनअपमा एनटर्क, जूपिटर, वीगो जस्ता मोडल रहेका छन् ।
होन्डा
होन्डाको लागि नेपालको आधिकारीक वितरक स्याकार ट्रेडिङ्ग प्राइभेट लिमिटेडले होन्डा ग्राजियाको बिक्री गरिरहेको छ । ग्राजिया डीएलएक्स स्कुटरको मूल्य २ लाख २४ हजार ९ सय रुपैयाँ रहेको छ । यो अटोमेटिक एलईडी हेडलाइट भएको पहिलो स्कूटर हो ।

यसमा थ्री–स्टेप ईको–स्पीड इन्डिकेटर लगाइएको जसका कारण आवश्यकता अनुसारको स्पीड र माइलेज सकिन्छ । साथै, सिट ओपन गर्नका लागि ‘फोर इन वान लक’ छ ।
त्यसैगरी, यसमा अल–डिजिटल इन्स्ट्रयूमेन्ट क्लस्टर र स्मार्टफोन चार्ज गर्न मिल्ने फ्रन्ट पकेटसमेत छ । होन्डाको एक्टिभामा प्रयोग गरिएको १२५ सीसी एयरकुल्ड फोर–स्ट्रोक इञ्जिन नै यसमा पनि प्रयोग गरिएको हो । यसले ८.५२ बीएचपी पावर र १०.५४ एनएम–टर्क प्रदान गर्छ ।
यसको ह्वीलबेश १,२६० एमएम छ । यसको अर्काे महङ्गो स्कुटरअन्तर्गत रहेको होन्डा एक्टिभा डीएलएक्सको मूल्य २ लाख १९ हजार ९ सय रहेको छ ।
त्यस्तै, एक्टिभा एसटीडीको मूल्य २ लाख ८ हजार ९ सय, ग्राजिया एसटीडी स्कुटरको मूल्य २ लाख ८ हजार ९ सय रहेको छ । कम्पनीले गत साउनमा १ लाख ९७ हजार ९ सयमा बिक्री गर्दैआएको एभिएटरको मूल्य बढाएर २ लाख २ हजार ९ सय पुर्याएको छ ।
यामाहा
यसैबीच, यामाहाको दुई लाखभन्दा महङ्गो स्कुटरको लाइनअपमा जेडआर स्ट्रीट र्याली, जेडआर स्ट्रीड डार्क–नाइट, रे जेडआर डिस्क, यामाहा फेसिनो परेका छन् । यीमध्ये सबैभन्दा महङ्गो रे जेडआर स्ट्रीट र्यालीको मूल्य २ लाख ८ हजार ९ सय रुपैयाँ रहेको छ । रे जेडआर ‘स्ट्री र्याली’ मा ११३ सीसीको ब्लूकोर इन्जिन रहेको छ । यसको पिकअप र माइलेज निकै उत्कृष्ट रहेको छ ।

त्यस्तै, यसमा रहेको डिजिटल इन्स्ट्रयूमेन्टल प्यानलले आवश्यक जानकारी दिनेछ । यो स्कुटर र्याली रेड र रेसिङ्ग–ब्लू गरी दुई कलरमा उपलब्ध छ । जेडआर स्ट्रीट र्याली डार्क–नाइटको मूल्य २ लाख ५ हजार ९ सय रहेको छ भने रे जेडआर डिस्कको मूल्य २ लाख ३ हजार ९ सय राखिएको । यामाहा फेसिनोको मूल्य भने २ लाख १ हजार ९ सय रुपैयाँ रहेको छ ।


