काठमाडौं । हुन्डाई क्रेटा पेट्राेल सेग्मेन्टमा सर्वाधिक बिक्री हुने एसयूभी हो । यही सेग्मेन्टमा किया सेल्टोस, निसान किक्स र एमजी जेडएस एसयूभी पनि बिक्री हुँदै आएको छ ।
पेट्रोल इन्जिन भएका यी एसयूभी ग्राहकको रोजाईमा पर्न सफल भएका छन् । यद्यपी बिक्रीको हिसावले एमजी जेडएस पछाडि रहेको छ । यसको इलेक्ट्रीक भर्सन भने नेपालमा निकै सफल भएको छ ।
हुन्डाई क्रेटा यो सेग्मेन्टमा सर्वाधिक सफल मोडल हो । सन् २०१६ मा पहिलो पटक नेपाल आएको क्रेटा ४ वर्षमा ५ हजार यूनिटभन्दा बढी बिक्री भइसकेको छ । क्रेटाको फेसलिफ्ट मोडल भने २०१८ मा आएको थियो ।
केही दिनअघि मात्रै नेपालमा क्रेटाको नयाँ जेनेरेशन मोडल बिक्री सुरु भएको छ । कोभिड १९ को संक्रमणको बीचमा बिक्री सुरु भएको क्रेटाले निकै राम्रो बुकिङ पाइरहेको छ ।
क्रेटालाई पच्छाईरहेको अर्को मोडल हो निसान किक्स । नेपालमा किक्सले राम्रै व्यापार गरिरहेको छ । नेपाल आएको दुई वर्षमा निसान किक्स करिब १ हजार यूनिट बिक्री भएको कम्पनीको दाबी छ । यद्यपी किक्सको पेट्रोल इन्जिन युक्त गाडी भन्दा डिजेल इन्जिन गाडिहरू प्रिमियम फिचरले भरिएको छ ।
यहि सेग्मेन्टमा करिब एक वर्षअघि नेपाल आएको किया सेल्टोसले पनि राम्रै व्यापार पाउन सफल भएको छ । किया सेल्टोस भारतमा उत्पादन भएको पहिलो एसयूभी हो । यसलाई नेपाल ल्याएको केही समयपछि नै कोभिडको संक्रमण फैलिएकाले यसको व्यापार सोचे जस्तो हुन नसकेको कम्पनी स्रोतको दाबी छ ।
यहि सेग्मेन्टमा एमजीले पनि जेडएस एसयूभी बिक्री गर्दै आएको छ । एमजी जेडएस फिचर लोडेड एसयूभी भएरपनि अन्य तीन मोडलको तुलनामा खासै राम्रो व्यापार गर्न सकिरहेको छैन ।
कम्पनीले यसको इलेक्ट्रीक भर्सनमा धेरै ध्यान केन्द्रित गरेकाले पनि यसको बिक्री बढ्न नसकेको जानकारहरु बताउँछन् ।
इन्जिन र मूल्य
किया सेल्टोस र हुन्डाई क्रेटामा एउटै इन्जिन र सुरक्षा फिचर उपलब्ध रहेको छ । हुन्डाई मोटर कम्पनी कोरियाको लगानी रहेको यी दुबै मोडलकाे डिजाइनमा फरकपन पाईएपनि मेकानिकल पार्ट्समा ठूलो भिन्नता छैन । यसमा १.५ लिटर क्षमताको पेट्रोल इन्जिन उपलब्ध रहेको छ ।
निसान किक्स र एमजी जेडएसमा पनि १.५ लिटर क्षमताको इन्जिन उपलब्ध छ । तर, एमजीले १.० लिटर टर्बो इन्जिनमा पनि जेडएसलाई बिक्री गर्दै आएको छ ।
क्रेटा र सेल्टोसमा रहेको इन्जिनले अधिकतम ११५ हर्स पावर र १४४ एनएम टर्क प्रदान गर्छ भने निसान किक्समा रहेको इन्जिनले १०५ हर्स पावर र १४२ एनएम टर्क प्रदान गर्छ । एमजी जेडएसमा रहेको इन्जिनले अधिकतम १०८ हर्स पावर र १४१ एनएम टर्क प्रदान गर्छ ।
सुरूवाती भेरियन्टको मूल्यको हिसावले सबैभन्दा सस्तो हुन्डाई क्रेटा ४८ लाख ९६ हजार रुपैयाँ रहेको छ भने किक्सको ४८ लाख ९९ हजार, सेल्टोसको ४९ लाख हजार ९० हजार र जेडएसको ५३ लाख ५० हजार रुपैयाँ रहेको छ ।

