पुराना गाडी र मोटरसाइकल ईभीमा परिवर्तन गर्दा अनुमति लिनु पर्ने

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको प्रयोग घटाउन यहिँ चल्तीमा रहेका पुराना कार तथा मोटरसाइकललाई इलेक्ट्रीक बनाउन दिने कानुनी व्यवस्था गरेसँगै धमाधम परिवर्तन गर्ने काम अगाडि बढेको छ ।

कानुनी ब्यवस्था भएपनि कार्यविधि निर्माण नभएको कारण अहिल्यै जो कोहीले आफ्नो सवारीसाधनलाई सहजै विद्युतीय बनाउन भने पाउने छैनन् । केही ग्यारेज र वर्कसपले विज्ञापन नै निकालेर गाडी रुपान्तरणको काम थालेको भएपनि सरकारी संयन्त्र भने यसमा अनभिज्ञता प्रकट गर्छ ।

बागमती प्रदेश भित्रको सवारीसाधन परिवर्तनको काम कसरी गर्ने भन्ने कार्यविधि प्रदेश सरकार श्रम, रोजगार तथा यातायात मन्त्रालयले गर्ने भएकोले अन्य निकायले अहिल्यै परिमार्जन गर्न नसक्ने मन्त्रालयको भनाई छ ।

‘अहिले नै कार्यविधि बनेको अवस्था छैन । बनाउनु पर्छ भनेर छलफल भने भइरहेको छ । यसको लागि विज्ञ समूह गठन गरेर हामी काम अगाडि बढाउँदै छौं’, मन्त्रालयका वरिष्ठ अधिकृत नारायणप्रसाद गौतमले मेरोअटोसँग भने ।

उनका अनुसार अहिले मन्त्रालयमा पनि अनुमति चाहियो भनेर फोन आउने गरेको छ । यातायात कार्यालयमा पनि कन्भर्जनको लागि सेवाग्राही गएका छन् । तर, पुराना गाडीको सुरक्षा, ब्राण्डको अनुमति, नयाँ दर्ता प्रक्रिया जस्ता कुरा टुङ्गो नलगाई अनुमति दिन सक्ने अवस्था छैन ।

तर, यातायात व्यवस्था विभागले भने यातायात कार्यालयले हेरेर परिवर्तनको अनुमति दिन सक्ने जनाएको छ । गाडीको अवस्था हेरेर कार्यालयले अनुमति दिने बताउँदै विभागका टेक्नीकल डाइरेक्टर रामचन्द्र पौडेल भन्छन्, ‘विभागले कार्यविधि बनाउँदा प्रदेशहरुले आपत्ति जनाउने भएकोले सबै कार्यविधि प्रदेशहरुले नै बनाउँछन् । अहिलेको लागि यातायात कार्यालयले सवारीसाधन हेरेर अनुमति दिन सक्ने छन् ।’

अहिले बजारमा अन्धाधुन्दा कन्भर्जनको नाममा ग्यारेजहरुले काम थाल्दा त्यसबाट आउन सक्ने जोखिमको जिम्मेवारी लिने निकाय देखिदैन । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र अर्थमन्त्रालयले पेट्रोलियम पदार्थको उपभोग घटाउन भन्दै पुराना गाडीलाई विद्युतीय गाडीमा परिमार्जन गर्ने नीति अगाडि सारेका हुन् । तर, यसरी कन्भर्जन भएका गाडीको सुरक्षाको विषयमा भने केही बोलिएको छैन । त्यसैले हचुवामा गरिने कन्भर्जनले सडकमा ‘बम गुडेको अवस्था’ नआउला भन्न सकिदैन ।


Back_to_top