धेरै माग भएका ७ कार, दशैंमा किन्नेले रोजे जस्तो पाउन मुस्किल

काठमाडौं । विश्वव्यापी सेमीकन्डक्टरको समस्याले गाँजिएको अटोमोवाइल क्षेत्रको समस्या हाम्रो जस्तो सानो बजारमा पनि देखिएको छ । धेरै सवारी साधन विक्री हुने मौसमको रुपमा लिइने दशैं तिहारमा केही कम्पनीको निश्चित मोडलमा आफुले रोजेजस्तो कलर र भेरियन्ट पाउन कठिन देखिएको हो ।

अहिले बजारमा सर्वाधिक विक्री हुने हुन्डाई क्रेटा, महिन्द्रा स्कर्पियो, टाटा नेक्सन इभी एमजी इजेडएस, रेनो काइगर, निसान म्याग्नाइट, मारुती सुजुकी भिटारा ब्रेजा जस्ता मोडलमा सप्लाईको समस्या रहेको छ ।

माथि उल्लेखित मोडलमा पनि सर्वाधिक समस्या टाटा नेक्सन इभीमा रहेको छ । टाटा मोटर्सको आधिकारीक वितरक सिप्रदी ट्रेडिङका अनुसार नेक्सन इभी सन् २०२२ को पहिलो क्वाटरमा मात्रै दिन सकिन्छ ।

उच्च माग र कम आपूर्तिको समस्यासँग जुधिरहेको नेक्सनको पेट्रोल र डिजेल भेरियन्ट भने ग्राहकले आफ्नो छनोट अनुसार खरिद गर्न सक्ने सिप्रदी ट्रेडिङले जनाएको छ ।

दोस्रो धेरै सप्लाई समस्या रहेको महिन्द्रा स्कर्पियो हो । महिन्द्राले भारतमा सूचना जारी गरेरै सेप्टेम्बरमा उत्पादन कटौती गर्ने घोषणा गरेको थियो । विगत लामो समयदेखि स्कर्पियोको सप्लाई राम्रोसँग हुन नसकेको आधिकारीक विक्रेता अग्नी इनकर्पोरेट प्रालिले जनाएको छ ।

कम्पनीका जनरल मेनेजर बरदान बस्नेतका अनुसार अहिले आयात बढेको जानकारी दिदै भन्छन्, ‘आफुहरुको प्राथमिकता पुराना बुकिङ गरेका ग्राहक हुन् । पुराना ग्राहकले डेलिभरी पाएपछि मात्रै नयाँको पालो आउने छ । अहिल्यै गाडी दिन सकिन्छ वा सकिदैन भन्ने अवस्था छैन ।’

नेपालमा सर्वाधिक सफल कम्प्याक्ट एसयूभी क्रेटाको सप्लाई ठिक ठाक रहेपनि माग अनुसार दिन कठिन भएको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले जनाएको छ ।

‘गाडी आयात भइरहेको छ । तर, केही भेरियन्टको माग धेरै रहेकाले समयमा डेलिभरी दिन कठिन हुन सक्छ’, कम्पनी स्रोतले मेरोअटोसँग भन्यो ।

त्यसैगरी रेनो काइगर र निसान म्याग्नाइट पनि बजारमा धेरै माग भएका सब फोर मिटर एसयूभी हुन् । दुबै कम्पनीले माग अनुसार गाडी उपलब्ध गराउन कठिन भएको जनाएका छन् । यद्यपी, पहिला आउने ग्राहकलाई प्राथमिकता दिएर गाडी हस्तान्त्रण गर्ने दुबै कम्पनीको भनाई छ ।

 

रेनो काइगर एड्भान्स अटोमोवाइलले विक्री गर्दै आएको छ भने निसान पायोनियर मोटोकर्पले विक्री गर्दै आएको छ ।

मारुती सुजुकी ब्रेजा पनि अर्को धेरै विक्री हुने मोडलमा पर्छ । सिजी मोटोकर्पले सकभर दशैंमा ग्राहकलाई निरास बन्न नदिने रणनीति अनुसार स्टक मेन्टेन गरेको जनाएको छ । तर, एकै पटक धेरै माग हुन आए सबैलाई दशैंअघि गाडी दिन कठिन हुनसक्ने कम्पनीको भनाई छ ।

‘अहिलेसम्मको बुकिङ हेर्दा गाडी दिन सकिन्छ । तर, बुकिङ बढेको खण्डमा केही कठिन हुनसक्छ’, कम्पनीका मार्केटिङ मेनेजर करुण शाक्यले भने ।

नयाँ गाडी आउने क्रममा ठूलो परिमाणमा गाडी आइरहेको भएपनि एमजीको इलेक्ट्रीक एसयूभी अहिले बुकिङ गर्नेलाई दशैंअघि दिन कठिन हुने देखिएको आधिकारीक वितरक पारामाउन्ट मोटर्सले जनाएको छ ।

हामी बुकिङ लिइरहेका छौं, दशैंमा गाडी नपाउनेलाई तिहारसम्म दिन सक्ने अवस्था छ । तर, माग धेरै भएमा तिहारपछिको तयारी पनि भइरहेको छ’, पारामाउन्ट मोटर्स स्रोतले भन्यो ।


Back_to_top