काठमाडौं । नेपालमा हुने तीन प्रमुख टी–२० लिगहरु मध्येको एक रहेको पोखरा प्रिमियर लिग (पीपीएल), नेपालका लागि टीभीएस मोटर साईकल तथा स्कुटरका आधिकारीक बिक्रेता जगदम्बा मोटर्स् ले टीभीएस अपाचे सिरीजको रेस पार्टनर बनेको छ । रेस पार्टनरका निमित्त जगदम्बा मोटर्स्का प्रबन्ध निर्देशक शाहिल अग्रवाल र पीपीएलका प्रबन्ध निर्देशक छुम्बी लामा बीच आपसी समझदारीमा सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
यही मङसिर २८ गते देखि पौष १२ गते सम्म चल्ने पीपीएलका लागि दोस्रो सिजनको खेल तालिका सार्वजनिक भइसकेको छ । पीपीएलमा विभिन्न ६ टिम बुटवल ब्लास्टर , चितवन राइनोज , विराटनगर टाईटन , पोखरा पल्टन , एक्सपर्ट धनगढी ब्लूज र काठमाडौं रोयल्स खेल्दै छन् । उद्घाटन खेल पोखरा पल्टन र काठमाडौं रोयल्स बीच हुन लागेको पीपीएल पौष १२ गतेकोे अन्तिम खेल पश्चात् समाप्त हुनेछ ।
हालै सम्पन्न भएको दक्षिण एसियाली खेलकुदमा नेपालको स्तरीय प्रर्दशनी निकै प्रशंसनीय रहेको उल्लेख गर्दै जगदम्बा मोटर्स्का प्रबन्ध निर्देशक शाहिल अग्रवाल ले भने , ‘नेपालमा आयोजना गरिएको यस पालीको दक्षिण एसियाली खेलकुद प्रतियोगितामा नेपालका खेलाडीहरुले हरेक विधामा निकै राम्रो प्रदर्शन गरे । धेरै भन्दा धेरै स्वर्ण पदक हात पार्न सफल भएका हाम्रा मेहनती र प्रतिबद्ध खेलाडीहरुको जोश र जाँगरले हामीलाई समेत प्रोत्साहित गरेको छ । तसर्थ , हामीले पनि नेपाली खेलकुद जगत्मा केही योगदान दिएमा नेपाली खेलकुदको भविष्य अवश्य सुनिश्चित हुने र प्रगतिको पथ तर्फ निरन्तर बढ्नेछ भन्ने विश्वासका साथ हामी पीपीएल संग आवद्ध हुने निश्चय गरेका हौँ ।’
जगदम्बा मोटर्स्ले आफ्नो देशव्यापी डिलरहरुको सञ्जाल मार्फत मोटरसाइकल तथा स्कुटरको बिक्री वितरण गर्दै आईरहेको छ । कम्पनीले सधै विभिन्न खेलकुदहरुलाई प्रायोजन गर्दै आएको छ भने विभिन्न प्रतियोगिताहरु संग आवद्ध पनि हुदै आएको छ र भविष्यमा पनि यस्ता खेलकुदहरुलाई सधै प्रोत्साहन गर्ने प्रतिवद्धता जनाएको छ ।

