के हो प्रि-बजेट अफर, कुन ब्राण्डले के दिँदै छन् ?

काठमाडौं । आगामी आर्थिक वर्षको बजेट आउनु अगाडि गाडी बिक्रेताले लगाएको सेल्स स्कीम ‘प्रि-बजेट अफर’ हो । अहिले विद्युतीय गाडी बिक्रेताहरूले प्रि-बजेट स्कीम लगाइरहेका छन् ।

सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को लागि बजेट जेठ १५ गते सार्वजनिक गर्दैछ । केही वर्ष अगाडिसम्म पेट्रोलियम पद्धार्थबाट चल्ने गाडीमा प्रि-बजेट स्कीम लाग्दै आएकोमा अहिले ईभीमा लगाउन थालिएको हो ।

बजेट अगाडि ठूलो परिमाणमा गाडी आयात गरेका बिक्रेताले स्टक चाँडो सक्न प्रि-बजेट स्कीम ल्याएका हुन् । पछिल्ला तीन बजेटले ईभीको करमा ठूलो परिवर्तन नगरेकाले आगामी वर्षको बजेटमा पनि धेरै उथलपुथल हुने गरी कर बढ्ने सम्भावना छैन । त्यसैले धेरै संख्यामा गाडी बिक्री गर्ने रणनीति अनुसार कम्पनीहरूले स्कीम ल्याएका हुन् ।

चीन र भारत दुवै देशमा बनेका ईभीमा स्कीम उपलब्ध छ । अहिले बजारमा चल्तीका ब्राण्डदेखि भर्खरै बजार प्रवेश गरेका ब्राण्डहरूले प्रि-बजेट स्कीम उपलब्ध गराएका छन् । नाम जे दिए पनि सबै कम्पनीको रणनीति एक्सचेन्ज गराउनेमा देखिन्छ ।

बीवाइडीले देशभर रहेका आफ्ना नेटवर्कमा एक्सचेन्ज क्याम्प लगायो । प्रि-बजेट नाम नदिए पनि स्काइवेल लगायतका केही ब्राण्डले एक्सचेन्ज क्याम्प लगाएका छन् ।

अहिले बजारमा ओमोडा/जेको, लीपमोटर, टाटा मोटर्स, हुन्डाई, जीकर, सीजी मोटर्स लगायतका कम्पनीले प्रि-बजेट स्कीम दिइरहेका छन् । यी सबैको ध्यान एक्सचेन्ज क्याम्प पनि हो । उनीहरूले पुरानो गाडी ल्याउने उपभोक्तालाई एक्सचेन्ज बोनसको रूपमा थप छुट प्रदान गरिरहेका छन् । त्यसैले हामीले यहाँ कम्पनी अनुसारको प्रि-बजेट स्कीमका बारेमा यहाँ चर्चा गरेका छौं ।

हुन्डाई

कोरियन ब्राण्ड हुन्डाईका ईभीमा लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले प्रि-बजेट स्कीम उपलब्ध गराएको छ । कम्पनीले ठ्याक्कै नगद छुट कति दिने भनेर खुलाएको छैन । तर, कोना ईभी, आयोनिक-फाइभ र क्रेटा ईभीमा आकर्षक छुट दिने जनाएको छ ।

नगद छुटको अलावा एक वर्षको बीमा, निःशुल्क सडक दस्तुर र ठाँउका ठाँउ एक्सचेन्ज सुविधा दिने लक्ष्मी हुन्डाईले जनाएको छ ।

ओमोडा/जेको

एसपीजी अटोमोबाइल्सले बिक्री वितरण गर्दै आएको ओमोडा÷जेको ब्राण्डका गाडीमा आकर्षक छुटसहितको स्कीम उपलब्ध छ । कम्पनीले प्रि-बजेट स्कीम नाम दिएको अफरमा एक जोडीलाई चीन भ्रमणदेखि आइफोन १६ प्रो, एक वर्षको ब्याज मिनाहसम्मको अफर गरिएको छ ।

चिनियाँ ब्राण्डका विद्युतीय कार किन्ने ५ जोडीलाई भ्याकेसन टुरदेखि एक्सचेन्जमा बोनस र एक वर्षको बीमा पनि दिनेछ । साथै, ७ किलोवाटको वाल चार्जर पनि कम्पनीले अफर गरेको छ ।

लीपमोटर

साँग्रिला मोटर्सले लीपमोटरका विद्युतीय कारमा पनि ‘प्रि-बजेट आफर’ भनेर स्कीम दिएको छ । कम्पनीले दिएको स्कीममा गाडी किन्ने भाग्यमानी एक जोडिले थाइल्याण्ड टुर, नगद छुट, एक्सचेन्ज बोनस, निःशुल्क बीमा, निःशुल्क ७ किलोवाटको एसी चार्जर, एक वर्षको वार्षिक कर र निःशुल्क कार वास सुविधा दिने जनाएको छ ।

टाटा मोटर्स

सिप्रदी ट्रेडिङले ‘प्रि-बजेट एक्सचेन्ज फियस्ट’ नाम दिएर जेठ ७ गतेसम्मको लागि स्कीम चलाइरहेको छ । कम्पनीले चलाएको स्कीममा आकर्षक एक्सचेन्ज बोनस, निःशुल्क एशोसरिज, निःशुल्क एभीटी सुविधा, लाइफ टाइम निःशुल्क चार्जिङ सुविधा र निःशुल्क चार्जर स्टलेसन सुविधा दिएको छ ।

जीकर

पायोनियर मोटोकर्पले जीकरको क्रसओभर मोडल ‘एक्स’मा पनि प्रि-बजेट स्कीम दिएको छ । कम्पनीले १० लाखसम्म एक्सचेन्ज बोनस दिने घोषणा गरेको छ । साथै, नगद छुट, एक वर्षको बीमा, ७ किलोवाटको वाल चार्जर र एक वर्षको सवारी कर दिने कम्पनीले जनाएको छ ।

डोङफेङ नामी

धेरै अगाडिदेखि प्रि-बजेट स्कीम दिइरहेको एमएडब्लू वृद्धिले आफ्नो नामी ह्याचब्याकमा नगद छुटदेखि विदेश भ्रमणसम्मको अफर गरेको छ । नामीले एक जोडीलाई थाइल्याण्ड भ्रमण र एक जनालाई आइफोन १६ प्रो म्याक्स लक्की ड्रबाट दिने जनाएको छ । साथै, १ लाखसम्मको फाइदा, गाडी किन्ने जोडीलाई एकरात बाहिर बस्ने खर्च, हरेक खरिदमा उपहार र २ दिन भित्र डेलिभरी दिने जनाएको छ ।

दीपल

दीपलका विद्युतीय कार किन्नेले पनि प्रि-बजेट स्कीम पाउने छन् । कम्पनीले नगद छुट, एक्सचेन्ज बोनस, बीमा, कम डाउन पेमेन्छ, ७ किलोवाटको चार्जर र एक वर्षको सडक कर दिने घोषणा गरेको हो ।

सीजी मोटर्स

सीजी मोटर्सले बिक्री गर्ने एवोन र एक्सपेङ ब्राण्डमा पनि प्रि-बजेट अफर पाउन सकिन्छ । कम्पनीले आफ्ना इलेक्ट्रीक कारमा कम डाउन पेमेन्ट सुविधा दिएका छन् । त्यसका अलावा एक्सचेन्ज बोनस, नगद छुट, एक वर्षको वार्षिक कर, बीमा, ७ किलोवाटको चार्जर, निःशुल्क एसेसरिज दिने जनाएको छ । कम ब्याजदर (६.५५ प्रतिशत) मा कर्जा र ४८ घण्टा भित्रै कर्जा स्वीकृत हुने सीजीको दाबी छ ।

प्रोटोन

प्रोटोनको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले प्रि-बजेट स्कीम भनेर नल्याएपनि ४.९९ प्रतिशत ब्याजदरको स्कीम संचालन गरिरहेको छ । साथै, ६० मिनेट भित्रै कर्जा स्वीकृत हुने कम्पनीले जनाएको छ ।


Back_to_top