६० लाखदेखि ८० लाख मूल्यका ईभीमा कडा प्रतिस्पर्धा सुरु

काठमाडौं । नेपाली बजारमा ६० देखि ८० लाख मूल्यसम्मका विद्युतीय गाडीमा कडा प्रतिस्पर्धा हुने देखिएको छ । यो सेग्मेन्टमा कुनै सयम किया निरो र हुन्डाई कोना मात्रै थिए । त्यसपछि सर्वाधिक चर्चित एसयूभी बीवाइडी एटो–थ्री बजारमा आयो ।

अब झन् यो सेग्मेन्ट निकै प्रतिस्पर्धी हुने देखिएको छ । ओमोडा ई-५, जेको जे-६, दिपल एल-०७ र एस-०७, लिप सी-१० र एक्सपेङ जी-६ पनि यहि मूल्य भित्रै आउने सम्भावना छ ।

अहिले बजारमा उपलब्ध बीवाइडी अटो-थ्री, ओमोडा र दिपल एस-०७ बीच राम्रै प्रतिस्पर्धा चलेको देख्न सकिन्छ । यी गाडीको मूल्य ६१ लाखदेखि ७५ लाखसम्म छ । यहि मूल्य भित्रै रहनेगरी जेको जे-६ बजारमा आउने तयारी गरेको छ । साथै, एक्सपेङ जी-६ पनि नाडा अटो शो मार्फत बजारमा प्रबेश गर्न लागेको हो ।

प्रतिस्पर्धीमा रहने ब्याट्री

मूल्यको हिसावले २० लाखसम्म फरकमा रहने यी एसयूभी मध्ये बीवाइडी एटो-थ्रीमा ६०.४८ किलोवाट आवरको ब्लेड ब्याट्री छ । यसको डब्लूएलटीपी रेन्ज ४२० किलोमिटर छ । यसलाई कम्पनीले ५० किलोवाट आवरको ब्याट्रीमा पनि ल्याएको छ । तर, त्यसको मूल्य ५६ लाख ९० हजार मात्रै छ ।

ओमोडा ई-५ मा ६१.७ किलोवाट आवरको ब्याट्री छ । यसको ब्याट्री पनि फिन ड्रिम्सले उत्पादन गरेको ब्लेड ब्याट्री नै हो । यसको रेन्ज डब्लूएलटीपी अनुसार ४३० किलोमिटर छ ।

तर, बजारमा बिक्री सुरु हुने तयारीमा रहेको जेको जे-६मा भने सीएटीएलले उत्पादन गरेको एलएफपी ब्याट्री दिएको छ । यसको रेन्ज ४०० किलोमिटर रहेको डब्लूएलटीपी टेष्टले देखाएको छ ।

दिपल एस-०७ मा ६६.८ किलोवाट आवरको टर्नरी ब्याट्री छ । यसको ब्याट्री पनि सीएटीएलले बनाएको हो । यसमा रहेको ब्याट्रीले सिंगल चार्जमा ४१० किलोमिटर रेन्ज दिने डब्लूएलटीपी टेष्टले देखाएको छ ।

एक्सपेङ जी-६ मा पनि ६६ किलोवाट आवरको ब्याट्री दिइएको छ । यसले पनि सिंगल चार्जमा ४३५ किलोमिटर रेन्ज दिने डब्लूएलटीपीले प्रमाणित गरेको छ ।

मोटर पावर

बीवाइडी एटो-थ्रीमा १०० किलोवाटको मोटर छ । त्यस्तै ओमोडा ई-५ र दिपल एस-०७ मा ९९ किलोवाटको समान मोटर छ । जेको जे-६ बक्सी डिजाइन एसयूभी १३५ किलोवाटको मोटरमा आउने छ । एक्सपेङ जी-६ भने १९० किलोवाटको मोटरमा उपलब्ध हुनेछ ।


Back_to_top