काठमाडौंमा बिहान साढे ४ बजेदेखि नै बस चलाउने तयारी

काठमाडौं । काठमाडौं उपत्यकामा अब बिहान साढे ४ बजेदेनि नै सार्वजनिक यातायात संचालन गर्ने तयारी थालिएको छ । नयाँ वर्षदेखि उपत्यकामा रात्रिकालीन बस सेवाको सुरू भएसँगै त्यसलाई विस्तार गरी बिहान पनि चाँडै संचालन गर्न लागिएको हो ।

महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले रात्रिकालीन बस सेवाको सुरूवात गर्दै यसलाई निरन्तरता र विस्तार गरिने प्रतिबद्धता व्यक्त गरेकी हुन् । उनले बिहान सबेरै काममा जाने श्रमिक र बिहान ६ बजे कलेज जाने विद्यार्थीका लागि साढे ४ देखि ५ बजे नै बस सेवा सुरू गर्ने तयारी भइरहेको जानकारी दिइन् ।

यसका लागि बुढानीलकण्ठ र चन्द्रागिरी नगरपालिकाले चार्जिङ स्टेशनका लागि ठाउँ उपलब्ध गराउने प्रतिबद्धता जनाइसकेको उनले बताइन् । चार्जिङ स्टेशनको व्यवस्था भएपछि बिहानको सेवा पनि प्रभावकारी हुने उनको भनाइ छ ।

विगतमा रात्रिकालीन बस सेवा असफल हुनुको मुख्य कारण ‘नाफामुखी’ (प्रफिट ओरिएन्टेड) सोच रहेको उल्लेख गर्दै डंगोलले यसपटक सेवाको प्रभावकारितालाई जोड दिइने बताइन् ।

हाललाई दुईवटा रुटबाट सुरू गरिएको यो सेवालाई क्रमशः अन्य रुटहरूमा पनि विस्तार गरिने डंगोलले बताइन् । रिङरोड र अन्य क्षेत्रमा पनि रात्रि सेवाको माग भइरहेको उनको भनाइ थियो । सेवालाई दिगो बनाउन एउटा छुट्टै कोष (फण्ड) खडा गर्ने योजना समेत रहेको उनले जानकारी दिइन् ।

उनले भनिन्, ‘हामी अहिले नै सबै कुरामा विज्ञ भइसकेका छैनौं, त्यसैले दुई रुटबाट सुरू गरेका हौँ । तर यो कतै गएर रोकिनका लागि होइन, अझ विस्तार गर्नका लागि गरिएको सुरूवात हो । कतिपय सेवाहरू नाफाघाटाभन्दा पनि जनमानसको जीवनलाई कति सहज बनायो भन्ने आधारमा मूल्यांकन हुनुपर्छ । यो वित्तीय लाभका लागि सुरू गरिएको काम हुँदै होइन ।’

पहिलो चरणमा लगनखेलदेखि बुढानीलकण्ठ र नागढुङ्गा (थानकोट चेकपोस्ट) देखि एयरपोर्ट रुटमा विद्युतीय बस सेवा सुरू भएको हो । प्रत्येक २० मिनेटको अन्तरालमा बसहरू छुट्ने छन् । रात्रिकालीन यात्रालाई सुरक्षित र मर्यादित बनाउन प्रत्येक बसमा काठमाडौं महानगरपालिकाका एक/एक जना नगर प्रहरी पोशाकमा खटिनेछन् ।

बस सेवाहरू हरेक रुटका सुरू र अन्तिम विन्दुबाट गुड्नेछन् । अर्थात् दक्षिण रुटमा चल्ने एउटा सवारी साधन ललितपुरको लगनखेलबाट सुरू भएर पाटन अस्पताल, अल्का, नर्भिक, प्रसुति गृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति अस्पताल, टिचिङ् अस्पताल, गंगालाल हृदय केन्द्र हुँदै बुढानीलकण्ठसम्म पुग्नेछ ।

अर्को बस बुढानीलकण्ठबाट गंगालाल अस्पताल, महाराजगञ्ज चोक, पानीपोखरी, लाजिम्पाट, जमल,, थापाथली, पुल्चोक हुँदै लगनखेल पुग्नेछ । नयाँ सडक गेट अर्थात् एनएसी अगाडिबाट एउटा बस छुट्नेछ । यसरी ३ वटा विन्दुबाट बस गुडेपछि हरेक बस विसौनीमा २० मिनेटको अन्तरमा बस आइ पुग्नेछ । यो सडकको एकतर्फी दुरी १६ किलोमिटर हो ।

पूर्वपश्चिम रुटको दुरी २० किलोमिटर छ । यो रुटमा एउटा बस थानकोटदेखि सतुंगल, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, सुन्धारा, नयाँ सडक, जमल, भद्रकाली, माइतीघर मण्डला, बानेश्वर, मीनभवन, तीनकुने हुँदै अन्तरराष्ट्रिय विमान स्थलका लागि छुट्नेछ ।

अर्को बस विमानस्थलबाट, तीनकुने, मीनभवन, नयाँ बानेश्वर, बबरमहल, थापाथली, त्रिपुरेश्वर, कालीमाटी, सोल्टीमोड, रविभवन, कलंकी हुँदै थानकोटतर्फ गुड्नेछ । न्यूरोड गेट, एनएसीबाट एउटा बस थानकोटतर्फ र अर्को बस विमानस्थल तर्फ छुट्नेछ । यसरी ४ वटा विन्दुबाट ४ वटा बस छुटेपछि हरेक बस बिसौनीमा हरेक २० मिनेटको अन्तरमा बस उपलब्ध हुनेछन् ।

२०८३ असार मसान्तसम्मको संचालन खर्च साझा यातायात स्वयंले व्यहोर्नेछ । त्यसपछि टिकट आम्दानीले खर्च धान्न नसकेको अवस्थामा सम्बन्धित नगरपालिकाहरूले बजेट विनियोजन गरी शोधभर्ना गर्ने सहमति भएको छ । यसका लागि ‘रात्रिकालीन साझा बस संचालन बास्केट फण्ड’ समेत खडा गरिनेछ ।


Back_to_top