९ हजार लाइसेन्स सहितका काजगपत्र फिर्ता लैजान ट्राफिकको अनुरोध

काठमाडौं । जिल्ला ट्राफिक कार्यालय, चितवनले चेकजाँचका क्रममा नियन्त्रणमा लिइएका झण्डै ९ हजार सवारी सम्बन्धी कागजात फिर्ता लैजान अनुरोध गरेको छ ।

कार्यालयले चेकजाँचका क्रममा नियन्त्रणमा लिइएका सवारी चालक अनुमतिपत्र, ब्लूबुक, रुट इजाजत लगायत ८ हजार ९८२ वटा कागजपत्र फिर्ता लैजान सर्वसाधरणलाई अनुरोध गरेको हो ।

वि.सं. २०८० देखि ट्राफिक नियम उल्लङ्घनको अभिलेख प्रणाली (ट्राफिक भायोलेसन रेकर्ड सिस्टम)लागू भएसँगै चेकजाँचका क्रममा ती कागजात नियन्त्रणमा लिइएको थियो ।

कार्यालयले विभिन्न मिति र स्थानमा गरिएको जाँचका क्रममा चौबीसघण्टे पूर्जी प्राप्त गरेका तर तोकिएको समयभित्र जरिवाना दाखिल नगरेका सवारी चालक तथा धनीहरूलाई १० दिनभित्र कागजपत्र लिन आग्रह गरेको हो ।

कतिपय आगलागीका क्रममा नष्ट भएको भए पनि त्यस्ता कागजातका लागि समेत नयाँ बनाउन सिफारिस गर्न सकिने भएकाले राजस्व बुझाएर लिन आग्रह गरिएको हो ।

कार्यालयले यस आर्थिक वर्षमा मात्रै यस्ता कागजपत्र २ हजार २४८ नियन्त्रणमा लिएको र पछि सवारी धनी लिन नआएको जनाएको छ । १० दिनभित्र कागज फिर्ता नलगे सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६४ को उपदफा ५ बमोजिम १ महिनासम्म निलम्बन गरिने व्यवस्था छ ।


Back_to_top