काठमाडौं । बीवाइडीको सफल मोडल एटो टुलाई सिधा टक्कर दिनेगरी निसानले सानो एसयूभी ल्याउने भएको छ । कम्पनीले विशेषगरी युरोपियन बजारलाई ध्यानमा राख्दै नयाँ एसयूभी बजारमा ल्याउन लागेको हो ।

कम्पनीले देखाएको नयाँ एसयूभी सानो आकारको ‘जुक’ मोडलको नयाँ जीवन भएको अनुमान गर्न सकिन्छ । त्यसले यसलाई सम्बोधन गर्दा जुक ईभी भनेर गर्न थालिएको छ । कम्पनीले यसको आधिकारिक नाम भने घोषणा गरेको छैन ।
निसानले सार्वजनिक गरेको इलेक्ट्रीक जुक मोडल अगाडिबाट हेर्दा निकै ब्लकी लाइटहरू जडान भएको देखिन्छ । निसानको लोगो सहितको एलईडी लाइटबार र चंकी रोम्बोइड डिजाइनमा नयाँ एसयूभी तयार भएको देखिन्छ ।
जापानी उत्पादकले नयाँ एसयूभी देखाए पनि यसमा रहेको पावरट्रेन, ब्याट्री साइज जस्ता कुरा बाहिर ल्याएको छैन । सम्भवत: नयाँ जेनेरेशन लिफकै जस्तो मोटर र ब्याट्री प्रयोग हुन सक्नेछ । निसानले लिफ र जुकलाई फरक फरक बजारमा बिक्री गर्न सक्नेछ ।
निसान लिफ कुनै समय नेपाली बजारमा पनि बिक्री भएको थियो । कम्पनीले आफ्नो इलेक्ट्रीक मोडल नेपालमा बिक्री गरिसकेको कारण नयाँ जुक एसयूभी पनि नेपाल आउने सम्भावना रहन्छ ।
नेपाली उपभोक्ताको बीचमा एसयूभी प्रतिको आकर्षण बढ्दै गएको कारण आधिकारिक बिक्रेता पायोनियर मोटोकर्पले अन्तर्राष्ट्रिय बजारमा बिक्री सुरू भएसँगै जुक इलेक्ट्रीक एसयूभी नेपाल ल्याउने सम्भावना धेरै देखिन्छ ।

