भारत प्रवेश गर्दै लीपमोटर, बी १० एसेम्बल हुने

काठमाडौं । चिनियाँ स्टार्टअप लीपमोटर भारतीय बजारमा प्रवेश गर्ने भएको छ । कम्पनीले भारतमा आफ्नो आगामी बी १० इलेक्ट्रीक एसयूभीको डिजाइनको पेटेन्ट दर्ता गरेको हो ।

लीपमोटरले भारतीय बजारमा यो एसयूभी कहिले सार्वजनिक गर्छ आधिकारिक समय तालिका अझै तय भइसकेको छैन । तर, पेटेन्ट दर्ताले यसको तयारी भइरहेको बुझ्न सकिन्छ । यद्यपि, स्टेलान्टिस वा लीपमोटरबाट आधिकारिक घोषणा हुन बाँकी नै छ।

स्टेलान्टिसले सन् २०२५ मा आफ्नो विश्वव्यापी विस्तार रणनीति अन्तर्गत लीपमोटरलाई भारत ल्याउने योजना पुष्टि गरेको थियो। लीपमोटर भारतमा सिट्रोन, जीप र मासेराटीपछि स्टेलान्टिस अन्तर्गतको चौथो ब्राण्ड बन्नेछ।

लीपमोटरले आफ्नो उपस्थितिको लागि भारतमा स्टेलान्टिसको हालको डिलर नेटवर्क प्रयोग गर्ने सम्भावना छ। पहिलेका रिपोर्टहरू अनुसार लीपमोटरले एउटा कम्प्याक्ट ह्याचब्याक र एउटा मिडसाइज एसयूभीबाट भारतमा आफ्नो काम सुरू गर्न सक्छ ।

लीपमोटरले भारतमा ‘लीपमोटर इन्टरनेशनल’ मार्फत काम गर्नेछ । जुन चीन बाहिरका बजारहरूका लागि स्टेलान्टिसले स्थापना गरेको ज्वाइन्ट भेन्चर कम्पनी हो ।

सुरूवाती योजना अनुसार भारतमा लीपमोटर बी १० सीकेडी ल्याएर एसेम्बल गरिने छ । उक्त एसयूभी स्टेलान्टिसको रञ्जनगाउँस्थित कारखानामा एसेम्बल हुनेछ । स्थानीय स्तरमा पार्टपूर्जाहरूको उत्पादन भने बजारको प्रतिक्रिया र व्यावसायिक सम्भावनामा भर पर्ने जनाइएको छ ।

यसको डिजाइन शैली सी १० एसयूभीको जस्तै छ । जहाँ भड्किलोभन्दा पनि सादा र आधुनिक बनावटमा ध्यान दिइएको छ। लीपमोटर बी १० मा स्लिम एलईडी लाइट बार, फ्लश डोर ह्याण्डल र चिल्लो बडी प्यानलहरू सहितको सफा र आधुनिक लुक छ ।

बी १० आम बजारका लागि लक्षित एक कम्प्याक्ट इलेक्ट्रीक एसयूभी हो। यो लीपमोटरको नयाँ लीप ३.५ प्लेटफर्ममा आधारित छ । विश्व बजारमा यो प्योर इलेक्ट्रीक र ईआरईभी दुवै विकल्पमा उपलब्ध छ ।

बी १० मा प्रविधि र आरामदायी सुविधाहरूमा विशेष जोड दिइएको छ। यसमा १४.६ इन्चको २.५के फ्लोटिंग टचस्क्रीन, ८.८ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, क्वालकम स्न्यापड्रागनमा आधारित इन्फोटेनमेन्ट सिस्टम, एप्पल कारप्ले र एन्ड्रोइड अटो सहितको वायरलेस कनेक्टिभिटी र ओभर द एयर अपडेटहरू छन् ।

यसको इन्टेरियर साधारण तर आधुनिक छ । जहाँ ड्यासबोर्डमा एउटा ठूलो स्क्रीन दिइएको छ । यसका साथै प्यानोरामिक ग्लास रूफ, वायरलेस फोन चार्जिङ, एनएफसी ब्लुटूथ र ३६० डिग्री क्यामेरा जस्ता सुविधाहरू छन् ।

आरामको लागि बी १० मा अगाडि रिक्लिनिङ सिट, हिटेडरभेन्टिलेटेड सिट, एम्बियन्ट लाइटिङ र प्रिमियम साउण्ड सिस्टम लगायत जस्ता सुविधाहरू छन् ।

यो एसयूभीमा लीपमोटरको लीप पाइलट एल २ एडास हुने अपेक्षा गरिएको छ । जसले १७ वटा एड्भान्स ड्राइभर एसिस्ट सुविधाहरू प्रदान गर्दछ । यस मोडलले अन्तर्राष्ट्रिय बजारमा ५ स्टार एएनक्याप सुरक्षा रेटिङ पाएको दाबी गरिएको छ।

लीपमोटर बी १० नेपाली बजारमा पनि उपलब्ध छ ।


Back_to_top