काठमाडौं । जेएसडब्लू एमजी इन्डियाले उत्पादन गरेको कारहरू गोल्छा अर्गनाइजेशन अन्तर्गतको जीओ अटोमोबाइल्सले पनि बेच्ने भएको छ । यही वैशाख महिनाको अन्तिमबाट यसको आधिकारिक बिक्री सुरू हुने कम्पनीले जानकारी दिएको हो ।
‘वैशाख अन्तिमबाट बिक्री थाल्ने योजना छ । त्यसको लागि एमजी इन्डियाबाट केही प्रतिनिधिहरू आउँदैछन्,’ जीओ अटोमोबाइल्सका प्रबन्ध निर्देशक आकाश गोल्छाले मेरोअटोसँग भने ।
यसअघि भारतमा उत्पादन भएका एमजीका कार पनि पारामाउन्ट मोटर्सले बिक्री गर्दै आएको थियो । भारतमा उत्पादन भएका कोमेट, विन्डसर र हेक्टर जस्ता मोडल उपलब्ध गराए पनि संख्यात्मक बिक्री थिएन । चीनमा उत्पादन भएका एसयूभी भने पारामाउन्ट मोटर्सले निकै राम्रो संख्यामा बिक्री गर्दै आएको थियो ।
पारामाउन्ट मोटर्सले भारतमा उत्पादन भएको गाडी बिक्री गर्ने वा नगर्ने विषयमा कुनै जानकारी बाहिर ल्याएको छैन । तर, चिनियाँ उत्पादन भने निरन्तर बिक्री गर्ने कम्पनी स्रोतले जानकारी दियो ।
एमजी ब्राण्ड नेपाल आएको ११ वर्ष पूरा भएको छ । पहिले नै परिवर्तन भएर पारामाउन्टमा आएको एमजी अब भारतीय उत्पादन अर्कै कम्पनीले बिक्री थाल्ने भएको हो ।
भारतमा उत्पादन हुने एमजी हेक्टर, कोमेट ईभी र विन्डसर ईभीसँगै अन्य ठूला मोडल पनि जीओ अटोमोबाइल्सले नेपाल ल्याउने जनाएको छ ।
जीओ अटोमोबाइल्सले हाल फोर्ड र केई ब्राण्डका गाडी बेच्दै आएको छ ।
नेपालमा एमजी ब्राण्ड निकै चर्चित छ । यसको एमजी एस फाइभ मोडल अहिले हटकेक बनेको छ । चालु आवमा मात्रै एस फाइभ १ हजार बढी युनिट आयात भइसकेको छ । त्यस्तै, आइएम सिक्स लग्जरी कार खोज्नेको रोजाइमा परेको छ ।
अन्य मोडल भने ठूलो संख्यामा बिक्री भएको तथ्यांकमा देखिँदैन । जिओले लगेको कोमेट ईभी केही संख्या बिक्री भए पनि विन्डसर ईभी र हेक्टर एसयूभीले बजार लिन सकेको छैन ।
एमजी सन् १९२४ मा स्थापना भएको ब्रिटिस ब्राण्ड हो । सन् २००५ मा यो कम्पनी बन्द भएपछि चिनियाँ कम्पनी नान्जिन अटोमोबाइल (एनएसी)ले खरिद गरेको थियो् । सन् २००७ मा एसएआइसी मोटर्सले नान्जिन अटोमोबाइल्स किनेपछि यसको स्वामित्व एसएआइसीमा आएको हो । हाल एमजीको पूर्ण स्वामित्व एसएआइसीसँग छ । कम्पनीले चीनमा हाइब्रिड र विद्युतीय सवारी उत्पादन गर्दै आएको छ ।
एसएआइसी बजार विस्तार गर्ने क्रममा ३ वर्ष अघि मात्रै भारत प्रवेश गरेको हो । एसएआइसीले भारतीय औद्योगिक घराना जेएसडब्लूसँगको सहकार्यमा नयाँ कम्पनी मार्फत भारतमै गाडी उत्पादन थालेको छ । यी दुईको सहकार्यमा सन् २०२३ देखि भारतमा ‘जेएसडब्लू एमजी’ ब्राण्डमा गाडी उत्पादन हुँदै आएको छ । जेएसडब्लू एमजी आइस र ईभी दुवै किसिमका गाडी उत्पादनमा निकै आक्रमक देखिन्छ ।


