काठमाडौं । सन् २०२० देखि नै अटोमोवाइलको विक्रीमा गिरावट आइरहेको छ । झट्ट हेर्दा बजारमा गाडी किन्ने मानिस धेरै देखिएपनि गाडी विक्रेताले ग्राहकको रोजाईमा परेका मोडल आयात गर्न नसक्दा ग्राहकले गाडी पाउन नसकेका हुन् ।
सन् २०१९/२० मा करिब १७ हजार प्यासेन्जर कार र २ लाख ७० हजार यूनिटभन्दा धेरै मोटरसाइकल विक्री भएको नेपालमा कोभिड १९ को संक्रमण सुरु भएयता क्रमशः विक्री घट्दै गएको आयात तथ्यांकले देखाउँछ ।
गाडीको विक्री घट्नुमा मुख्यत ५ कारण जिम्मेवार रहेको देखिन्छ । जसमा धेरै विषय विपदसँग जोडिएर आएका छन् ।
१. सेमी कन्डक्टरको अभावमा उत्पादन कटौतीः विश्वभर गाडीमा प्रयोग हुने सेमी कन्डक्टर (चिप्स)को अभाव चलिरहेको छ । कोभिड १९ को संक्रमण बढ्न थालेसँगै ग्याजेटको विक्री बढेकाले चिप्सको प्रयोग अत्याधिक भयो । त्यहि समयमा गाडी उत्पादकहरुले आफ्नो उत्पादन कटौती गरे । अर्डर गरेको चिप्स पनि अन्य ग्याजेट कम्पनीले लिए । जब अटोमोवाइल क्षेत्रको माग बढ्न थाल्यो कम्पनीहरुले चिप्स पाउन सकेनन् । यही कारण अहिले पनि कम्पनीहरुले कार उत्पादन कटौती गर्न बाध्य भइरहेका छन् ।
गाडी उत्पादन कम भएसँगै गाडीको आयात कम हुनेनै भयो । जसको कारण कुनै पनि ब्राण्डले अर्डर अनुसारको सप्लाई पाउन सकेनन् । चल्तीका मोडलको माग भारतमा नै उच्च रहेकाले नेपालले धेरै गाडी पाउन सकेको छैन ।
२. महंगो मूल्यः भारतले नयाँ प्रदुषण मापदण्ड अबलम्बन गर्न थालेकै समयमा कोभिड १९ को माहामारी फैलिएको थियो । नयाँ प्रदुषण मापदण्डमा अपग्रेड गर्न कम्पनीहरुले ठूलो लगानी थप गरेका थिए । त्यही कारण बीएस ६ मापदण्डका कारको मूल्य बढ्यो ।
कोभिड १९ को संक्रमणले गर्दा हरेक क्षेत्रले उत्पादन कटौती गरेका थिए । उत्पादन नै कटौती भएपनि गाडी र मोटरसाइकल उत्पादनको लागि आवश्यक प्लाष्टीक, फलाम, स्टील, फेब्रिक जस्ता बस्तुको मूल्य बढ्यो । त्यसले गाडीको मूल्यमा १० देखि २० प्रतिशतसम्म वृद्धि भयो ।
३. उपभोक्ताको आम्दानी घट्योः कोभिडको कारण नेपालमा करिब ५ महिना पूर्ण लकडाउन लगाइएको थियो । साथै, अर्को ५ महिना आंशिक लकडाउन भएका कारण मध्य र साना मझौला ब्यवसाय गर्ने करिब १५ लाख परिवार ठूलो समस्यामा देखियो । साथै, दैनिक ज्यालादारीको जीवन निकै कष्टकर बन्यो । त्यसले करिब १५ लाख मानिसले आफ्नो रोजगारी गुमाए । परिणामत निरपेक्ष गरिवीको संख्या बढ्यो भने मध्यम वर्गिय परिवार निम्न मध्यम वर्गमा झर्यो । यसको सिधा असर अटोमोवाइल व्यवसायमा परेको देखियो ।
४. इन्धनको बढ्दो मूल्यः पछिल्लो १८ महिनादेखि पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढी रहेको छ । यसरी इन्धनको मूल्य बढ्दा त्यसको सिधा असर सवारी साधनको विक्रीमा परिरहेको छ ।
५. नयाँ मोडलमा कमीः हरेक वर्ष एक वा दुई नयाँ मोडल बजारमा ल्याउने कम्पनीहरुले दुई वर्षमा एउटा पनि नयाँ मोडल ल्याउन नसकेको देखियो । त्यसले नयाँ मोडल खोज्ने ग्राहकलाई निरास बनायो ।

