१० वर्षमा नेपाल आएका टोयोटाका ५ असफल कार

काठमाडौं । टोयोटाले नेपालमा गाडी विक्री गर्न थालेको करिब ५५ वर्ष भएको छ । नेपालमा सबैभन्दा धेरै मानिसलाई कार चढ्न र सर्भिसको लागि जनशक्ति उत्पादन गर्न टोयोटाको भूमिका सधै अग्रणी रहँदै आएको छ ।

टोयोटाले नेपालमा विक्री गरेको हाइलक्स, ल्याण्डक्रुजर, प्राडो, हायस, कोरोला, फर्चुनर जस्ता मोडल सर्वाधिक सफलमा पर्छन् । तर, कम्पनीले पछिल्लो दशकमा नेपाल ल्याएका विभिन्न ५ मोडल असफल भएका छन् ।

टोयोटाले सन् २०१० यता नेपाल ल्याएको एभेन्जा एमपीभी, इटिओस क्रस, इटिओस सेडान, लिभा ह्याचव्याक र इनोभा क्रिस्टा लामो समय बजारमा रहन सकेन । यी गाडी नेपालमा लामो समय नरहनुमा मूल्य र डिजाइन मुख्य कारण रहेको थियो ।

१. टायोटा एभेन्जाः इन्डोनेशियामा उत्पादन भएको मोडल हो । टोयोटा एभेन्जा सन् २००६ बाट उत्पादन सुरु भएको थियो । यसलाई टोयोटाको आधिकारीक वितरक यूनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले सन् २०११ मा नेपाल ल्याएको थियो ।

ठूलो साइज, १३ सय सीसी क्षमताको इन्जिन र करिब ४२ लाख सुरुवाती मूल्यमा बजारमा आएको एभेन्जा सुरुवाती दिनमा निकै राम्रो संख्यामा विक्री भएको थियो । तर, पछि बजारमा त्यो मूल्यमा अन्य उत्कृष्ट कार आउन थालेसँगै यसको विक्री बन्द भएको थियो ।

२. इटिओस क्रसः टोयोटा इन्डियाको महत्वाकांक्षी मोडल इटिओस क्रसले पनि नेपालमा सोचे अनुरुप व्यापार गर्न सकेन । तत्कालीन बजारमा फोर्ड इकोस्पोर्टको उच्च माग रहेको थियो । त्यहि मोडलसँग प्रतिस्पर्धा गर्न आएको इटिओस क्रस धेरै समय बजारमा टिक्न सकेन ।

क्रसओभर डिजाइनको यो गाडी सुरुमा ४२ लाख मूल्यसहित बजारमा आएको भएपनि पछि मूल्य बढेर ४८ लाख माथि पुगेसँगै बन्द भएको थियो । अहिले पनि बजारमा इटियओस क्रस गुडी रहेका छन् । यसमा १४९६ सीसी क्षमताको इन्जिन थियो ।

३. इटिओस सेडानः कोरोला सेडानको विक्री बन्द गरेसँगै नेपाल आएको इटिओस सेडानले पनि खासै राम्रो बजार लिन सकेन । सेडान कार बजारमा किन्ने मानिस पाउनै मुस्कील र त्यसमा पनि टोयोटाले भारतमा बनाएको सेडान भनेपछि यसको विक्री राम्रो हुन सकेन ।

कम्पनीले यसमा पनि १.५ लिटर क्षमताको इन्जिन दिएको थियो । सन् २०१३ मा यसको विक्री सुरु हुँदा ३४ लाख ४५ हजार मूल्य तोकिएको थियो ।

४. लिभा ह्याचव्याकः टोयोटाले भारतमा नै बनाएको यो ह्याचव्याक कार सन् २०२० सम्म नेपालमा विक्री भइरहेको थियो । भारतमा टोयोटाले यसलाई बीएस ६ इन्जिनमा अपग्रेड नगरेपछि यसको उत्पादन बन्द भएको हो । नेपालमा विक्री भएको भएपनि यसले सोचेजस्तो बजार पाउन भने सकेन ।

५. इनोभा क्रिस्टाः टोयोटाले सन् २०१६ मा नेपाल ल्याएको इनोभा क्रिस्टा पूर्णत असफल मोडल हो । भारतमा सर्वाधिक सफल इनोभा नेपालमा असफल भएको हो । ठूलो साइजको एमपीभी र ७४ लाखदेखि ९९ लाखसम्मको मूल्यको कारण पनि यसलाई अन्य प्रयोजनमा चलाउन धेरै तयार भएनन् ।
भारतमा ट्राभल कम्पनीहरुले सर्वाधिक रुचाएको इनोभा नेपालमा मूल्यकै कारण असफल भएको मान्ने गरिन्छ ।


Back_to_top