‘प्लग इन हाइब्रिड’ रेन्ज रोभर पी ४०० नेपाल आउँदै, यस्ता छन् विशेषता

काठमाडौं । लग्जरी कार उत्पादक कम्पनी ल्यान्ड रोभरले उत्पादन गरेको पछिल्लो हाइब्रिड कार रेन्ज रोभर पी ४०० नेपाल आउने भएको छ । उक्त लग्जरी गाडीलाई किशोर गियरले नेपाली बजारमा ल्याउन लागेको हो ।

‘अबको केही दिन भित्रमा हामीले बजारमा रेन्ज रोभर पी ४०० ल्याउँदै छौं । यो  सरकारले भनेजस्तो साँचै हाइब्रिड कार हो’, कम्पनी संचालक किशोर वादे श्रेष्ठले मेरोअटोसँग भने । 

यो प्रिमियम एसयूभीमा २.० लिटर टर्बोचार्ज्ड इन्जिन दिइएको छ, जसले अधिकतम २९६ बीएच पावर र ४०० एनएम टर्क उत्पादन गर्छ । यसमा दिइएको इलेक्ट्रीक मोटरले ११४ बीएच पावर र २७५ एनएम टर्क जेनेरेट गर्छ ।

यी दुबै इन्जिनको एकै पटक प्रयोग गर्दा पिक पावरको रुपमा ३९८ बीएच पावर र ६४० एनएम टर्क जेनेरेट हुने छ । फोर ह्वील ड्राइभ अप्सनमा रहेको यो एसयूभीमा ८ स्पीड अटोमेटिक गियरबक्स दिइएको छ ।

यसअघिको ३.० भी ६ इन्जिनको तुलनामा यसमा रहेको २.० टर्बो इन्जिन बढी शक्तीशाली रहेको छ । यो हाइब्रिड मोडलले ० देखि ६० किलोमिटरको स्पीड समाउन ६.४ सेकेन्ड मात्र लगाउने छ । 

व्याट्री 

यसमा १३.१ किलोवाटको लिथिएम आयन व्याट्री दिइएको छ । यसलाई ७ किलोवाटको एसी चार्जरले घरमा नै चार्ज गर्न सकिन्छ । यसलाई एक पटक फुलचार्ज गर्न करिब १० घन्टा लाग्ने कम्पनीले जनाएको छ । तर, डिसी फास्ट चार्जरबाट भने तीन घन्टाभन्दा कम समयमा नै फुल चार्ज गर्न सकिने जनाइएको छ । 

यसमा रहेको इलेक्ट्रीक मोटरबाट गाडी चलाउँदा एक पटकको फुलचार्जमा ५० किलोमिटर चलाउन सकिने कम्पनीको दाबी छ । 


Back_to_top