मारुती सुजुकीको नयाँ कार एस-प्रेसो ४ भेरियन्टमा आउने

काठमाडौं । मारुती सुजुकीले २४ दिनपछि सार्वजनिक गर्ने नयाँ कार एस-प्रेसो चार भेरियन्टमा बजारमा आउने भएको छ । भारतीय बजारमा सार्वजनिक हुनु अघि नै नेपाली बजारमा मूल्य निर्धारण गरेर बुकिङ खुल्ला गरिएको एस-प्रेसोको टप भेरियन्टमा एएमटी गियरबक्समा आउने छ ।

मारुती सुजुकीको आधिकारीक बिक्रेता सिजी मोटोकर्पले नेपालमा एस-प्रेसोको बुकिङ्ग नाडा अटो शो २०१९ बाट सुरु गरेको थियो । 

नयाँ कारको नेपाली बजारमा सुरुवाति मूल्य २२ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । यद्यपी भारतीय बजारमा यसको मूल्य अझै सार्वजनिक भएको छैन । एस–प्रेसो बुकिङ्ग गर्न चाहने ग्राहकले ५ देखि २५ हजार रुपैयाँ तिरेर बुकिङ गर्न सक्ने छन् । 

‘भारतीय बजारमा सेप्टेम्बर ३० मा सार्वजनिक हुने यो माइक्रो एसयूभी नेपाली बजारमा अक्टुबरमा बुकिङ्ग गर्ने ग्राहकलाई दिनेछौं’ कम्पनीका प्रबन्ध निर्देशक करण चौधरीले मेरोअटोसँग भने । 

अटो बजारको व्यवसायीक तरिका परिवर्तन हुने देखिएको छ । पहिला चलन चल्तीको सेडान त्यसपछि ह्याचव्याक हुँदै एसयूभीमा बजार प्रबेश गरेसँगै कम्पनीहरुले साना गाडी पनि एसयूभी वेसमा रहेर निर्माण गर्न थालेका छन् । 

सन् २०१८ को दिल्ली अटो एक्सपोमा कन्सेप्ट देखाइएको यो माइक्रो एसयूभीबाट कम्पनीले निकै राम्रो व्यापार गर्ने अपेक्षा गरेको छ । 

सुजुकीको हार्टटेक प्ल्याटफर्ममा निर्माण गरिने यो कारमा १.० लिटरको ३ सिलिण्डर के सिरिजको पेट्रोल इन्जिन दिइएको छ । जसले ८२ बीएच पावर र ११४ एनएम टर्क जेनेरेट गर्छ । 

भारतीय नयाँ सुरक्षा मापदण्ड र नयाँ प्रदुषण मापदन्ड अनुसारको हुनेछ । कारमा स्ट्याण्डर फिचरको रुपमा अगाडि २ वटा एयरव्याग रहेको छ भने, इबीडी सहितको एबीएस ब्रेकिङ्ग सिस्टम, रियर पार्किङ्ग सेन्सर जस्ता सेफ्टी फिचर हुनेछ ।


Back_to_top