काठमाडौं । फ्रेन्च अटोमोवाइल कम्पनी रेनोले भारतमा नयाँ एसयूभी परीक्षण सुरु गरेको छ । रेनोले युरोपियन बजारमा बिक्री भइरहेको ‘अस्ट्रल एसयूभी’ भारतमा परीक्षण सुरु गरेको हो ।
पाँच सिट क्षमतामा आउने अस्ट्रल मिड साइज एसयूभी हो । रेनोले सन् २०२२ मा लन्च गरेको यो एसयूभीमा मारुती सुजुकी ग्राण्ड भिटारा वा टोयोटा हाइराइडरमा जस्तै सेल्फ चर्जिङ हाइब्रिड सिस्टम रहेको छ ।
बाहिर आएको तस्बिर अनुसार अस्ट्रल एसयूभीमा बीचसम्म पुगेको र्याप अराउण्ड टेलल्याम्प प्रयोग गरिएको छ । त्यसको ठिक बीचमा अस्ट्रलको ब्राण्डिङ र माथि पट्टी रेनोको लोगो छ । यो एसयूभीमा एलइडी डीआरएल ल्याम्प, सिल्भर एसेन्ट सहितको ठूलो साइजको ग्रील तथा स्पोर्टी बम्पर रहेको देखिन्छ ।
नयाँ एसयूभीमा १.२ लिटरको तीन सिलिण्डर टर्बो पेट्रोल इन्जिन र इलेक्ट्रीक मोटर छ । जसको कम्बाइन आउटपुट २०० हर्स पावरसम्म रहनेछ । नयाँ अस्ट्रल एसयूभी कुन मितिबाट भारतमा बिक्री सुरु हुन्छ भन्ने विषयमा कुनै जानकारी प्राप्त भएको छैन ।

रेनोले भारतमा उत्पादन हुने नेक्स्ट जेनेरेशन डस्टर पनि हाइब्रिड पावरट्रेन प्रयोग गरेर ल्याउने यसअघि नै जानकारी बाहिर आइसकेको छ । अहिले परिक्षण गरिरहेको रेनो अस्ट्रल सीएमएफ सी/डी प्लेटफर्ममा बनेको हो । भारतमा उत्पादन हुने रेनो डस्टर सीएमएफ बी प्लेटफर्ममा बन्नेछ ।

