काठमाडौं । टाटा मोटर्सले बजेटपछि आफ्नो सर्वाधिक सफल मोडल टियागो ईभीको मूल्य १ लाख रुपैयाँले वृद्धि गरेको छ । कम्पनीले मूल्य वृद्धि गरेसँगै टियागो टप भेरियन्टको मूल्य ३० लाख रुपैयाँ पुगेको हो ।
अहिले बजार उपलब्ध विलिङ विङ्गोको मूल्य ३२ लाख रुपैयाँ रहेको छ । यी दुई मोडल बीचमा मूल्यको अन्तर २ लाख रुपैयाँ छ । यस्तोमा मूल्यसँगै यी गाडीमा रहेका फिचरमा भिन्नता केलाउने हामीले प्रयास गरेका छौं ।
नेपाली सडकमा बलियो पकड बनाएको टियागो ईभी र भर्खरै मात्र नेपाल आएको विलिङ विङ्गोमा थुप्रै फरक पाउन सकिन्छ । यसमा रहेको फरकको विषयमा हामीले यहाँ चर्चा गरेका छौं ।
डिजाइनमा पुरै फरक
टाटा टियागो रेगुलर पेट्रोलियम पदार्थबाट चल्ने कारको इलेक्ट्रीक रुप हो । इलेक्ट्रीक अप्सनमा कम्पनीले कलर र अगाडिको फ्रन्ट ग्रिलमा केही फरक बनाएर ल्याएको छ । तर, यसमा रहेका अधिकांश मुख्य फिचरहरु रेगुलर मोडलबाट नै लिइएको हो ।

विलिङ विङ्गो क्लासिक लुक्समा तयार भएको ह्याचव्याक कार हो । इन्डोनेशियामा उत्पादन भएको विङ्गो फिनिसिङको हिसावले पनि उत्कृष्ट देखिन्छ । आजकल ईभीलाई फरक बनाउने प्रयास चलिरहेको छ । यसलाई विङ्गोको डिजाइनले पनि पुष्टि गर्छ ।
यदि, तपाई ट्रेडिस्नल कारको पारखी हुनुहुन्छ भने तपाईको लागि टाटा टियागो ईभी ठिक हुनसक्छ । होइन, तपाई पृथक डिजाइनको कार लिएर बजारमा निस्कन चाहनु हुन्छ भने विङ्गोले तपाईलाई खुसी बनाउन सक्छ ।
साइजमा पनि फरक
साइजमा विलिङ विङ्गो टियागोको तुलनामा निकै ठूलो छ । विङ्गोको लम्बाई ३९५० एमएम, चौडाई १७१० एमएम र उचाई १५८० एमएम छ । यसमा २५६० एमएम लामो ह्वीलवेस पाउन सकिन्छ । विङ्गो ह्याचव्याकमा ३१० लिटरको बुट स्पेश छ ।
टाटा टियागोको लम्बाई ३७६९ एमएम, चौडाई १६७७ एमएम र उचाई १५२६ एमएम छ । यसमा २४०० लामो ह्वीलबेस र २४० लिटरको बुट स्पेश छ ।

दुबै कारकाे ग्राउण्ड क्लीयरेन्स लगभग समान १६५ र १६६ एमएमकाे छ ।
मोटर र ब्याट्रीमा कति फरक ?
दुबै कारमा समान ४९ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर पाउन सकिन्छ । तर, ब्याट्री साइजमा भने फरक छ । विलिङ विङ्गो ब्याट्री साइजमा टियागोभन्दा अगाडि देखिन्छ । विङ्गोमा ३२ किलोवाट आवरको ब्याट्री छ भने टियागोमा २४ किलोवाट आवरको ब्याट्री पाउन सकिन्छ ।
ब्याट्रीमा फरक भएपछि रेन्जमा अन्तर हुने नै भयो । विलिङ विङ्गोको कर्भवेट १ हजार १२५ किलोग्राम छ । टियागो ईभीको कर्भवेट ९३५ किलोग्राम मात्रै छ । कम तौल भएको कारण सानो ब्याट्रीका बाबजुद टियागोले रेन्जमा प्रतिस्पर्धा गर्न सक्छ ।
इन्टेरियरमा फरक
टियागो र विङ्गोको इन्टेरियरमा निकै ठूलो फरक पाउन सकिन्छ । टियागो धेरैको लागि फ्यामिलियर कार हो । विङ्गो नयाँ मोडल हो । त्यसैले फरकपन ठ्याक्कै महसुस गर्न सकिन्छ ।

विङ्गोको इन्टेरियर क्लासिक लुक्समा छ । ईभी प्रेरित अधिकांश डिजाइनको कारण यसमा प्रयोग भएको क्याविनलाई मोर्डन भन्न सकिन्छ । तर, टियागोको इन्टेरियर हामीलाई मन पर्ने किसिमको छ । इन्फोटेन्टमेन्ट सिस्टम, सिट क्वालिटी, ड्यासबोर्ड क्वालीटी दुबै कारमा राम्रो छ ।
सुरक्षाको लागि लगभग समान फिचर उपलब्ध टियागो र विङ्गोमा छनोट गर्न धेरैलाई कठिन हुनसक्छ । त्यसैले आफ्नो आवश्यकता, चलाउने सडक जस्ता विषय एकिन गरेपछि किन्ने निर्णय गर्दा बेस हुन्छ ।

एउटै सेग्मेन्टमा उपलब्ध यी दुई कारमा केही समानता र केही ठूलो भिन्नता छ । त्यसैले तपाईको छनोटले कुन किन्ने भन्ने कुरामा फरक पर्छ । तर, दुबै कार ‘भ्यालू फर मनी’ मानिन्छन् ।

