काठमाडौं । सन् २०२४ भित्रै नेपाल आउने तीन मोटरसाइकलले बजारमा राम्रो प्रभाव पार्न सक्ने देखिन्छ । भदौ ११ गतेदेखि काठमाडौंमा आयोजना हुने नाडा अटो शोमा तीन प्रिमियम मोटरसाइकल आउन सक्नेछन् ।
रोयल इनफिल्ड, ट्रायम्फ र हिरो माभ्रिक नाडा अटो शो २०२४ मा आउने अनुमान गर्न सकिन्छ । अटो शोमा यी तीनै ब्राण्ड भित्र्याउने कम्पनीहरुले स्टल बुक गरिसकेका छन् ।
हिरोका मोटरसाइकल नेपाल ल्याएको सिजी मोटर्स, रोयल इनफिल्डको अल्फा अटो मोटीभ र ट्रायम्फ मोटरसाइकल हंशराज हुलाश चन्द एण्ड कम्पनीले स्टल लिएका छन् । हंशराज हुलाश चन्दले भने नयाँ ईभी र बजाज मोटरसाइकलका लागि पनि स्टल बुक गरेको हो ।
कम्पनीले ट्रयाम्फका मोटरसाइकल नाडामा प्रदशीन गर्न सक्ने अनुमान गर्न सकिन्छ । कम्पनीले नक्सालमा सुविधा सम्पन्न शोरुम निर्माणको काम सुरु गरिसकेको छ । यसले पनि कम्पनीले नाडा अटो शोको अवसर पारेर मोटरसाइकल नेपाल ल्याउने चर्चा सुरु भएको हो ।
अल्फा अटो मोटिभले नेपालमा बहुप्रतिक्षित मोटरसाइकल हिमालयन ४५० ल्याउने तयारी थालिसकेको छ । भारतबाट नै हिमालयनको टिमहरु नेपाल आउने क्रम बढेको छ । केही दिन अघि हिमालयनको एक टिम नेपाल हुँदै तिब्बत गएको थियो । कम्पनीले हिमालयन नेपालमा सार्वजनिक गर्ने पक्का भइसकेको अवस्थामा नाडा अटो शोको अवसरमा मोटरसाइकल बिक्री सुरु हुनेछ ।

त्यस्तै सिजी मोटर्सले नाडा अटो शोको अवसरमा हार्लेको इन्जिनमा तयार भएको माभ्रिक मोटरसाइकल नेपाल ल्याउने हल्ला चलेको छ । विभिन्न शोरुमहरुले समेत नाडा अटो शोमा माभ्रिक आउने तयारी भएको बताएका छन् ।
यी तीन मोटरसाइकल नाडा अटो शो २०२४ मा प्रर्दशन हुने हो भने तीनै मोटरसाइकले भिड थेक्न नसक्ने अनुमान गर्न सकिन्छ ।
यी तीनै मोटरसाइकल ४०० सीसी सेग्मेन्टका प्रिमियम मोटरसाइकल हुन् । यी तीनै कम्पनीले नेपालमा मोटरसाइकल एसेम्वल गर्दै आएका छन् । नेपालमै एसेम्वल हुने कारण यी तीनै मोटरसाइकलहरुको मूल्य १० लाखभन्दा कम हुने अनुमान गर्न सकिन्छ ।

