काठमाडौं । फ्रान्सेली कार उत्पादक कम्पनी रेनोले भारतीय बजारमा उत्पादन गरेको रेनो डस्टर विगत दुई वर्षदेखि नेपाली बजारमा बिक्री वितरण भइरहेको छ ।
यसअघि डिजेल भेरियन्टमा मात्र नेपाली बजारमा उपलब्ध रेनो डस्टर आरएक्सएस भेरियन्ट अब भने पेट्रोल अप्सनमा पनि उपलब्ध भएको छ । नेपालको लागि रेनोको आधिकारीक वितरक एड्भान्स अटोमोवाइलले आज मंगलवारबाट ‘आरएक्सएस’ पेट्रोल भेरियन्टको बिक्री वितरण सुरु गर्ने भएको हो ।
यो डस्टरको फुलअप्सन एसयूभी हो । विशेषत सुरक्षा र आरामदायी हिसावले उत्पादन गरिएको यो भेरियन्टमा डियुल एयरव्याग, एबीएस, इबीडी, ब्रेक एसिस्ट, हिल एसिस्ट, इलेक्ट्रोनिक स्टेबिलिटी प्रोगाम, इन्जिन मोबिलाइजर, सेन्ट्रल लकिङ्, चाइल्ड सेफ्टी लक, पावर डोर लक, ओभिआरएममा ट्रन इन्डिकेटर, रियर वाइपर, हेडल्याम्प बिम एड्जस्टर लगायतका फिचर रहेको छ ।
यसको क्याबिनलाई उत्कृष्ट बनाउन एयर कन्डिसनर, हिटर, स्टेरिङ् एड्जस्टमेन्ट, स्टेरिङ् माउन्टेड अडियो, पावर सप्लाई पोर्ट, इलेक्ट्रीकल्ली एड्जस्टेवल रियर भ्यू मिरर, रियर आर्मरेष्ट, अपहोलिष्टीक, किलेस इन्ट्रि, इएसपी, इन्फोटेन्टमेनट सिस्टमलगायतका फिचर दिइएको छ ।
यस गाडीमा अत्यावस्यक सूचनाको लागि डिस्टायन्स टु इम्पीटी, फियुल इफिसेन्सी इन्डिकेटर, डोर जार वार्निङ, लो फियुल वार्निङ, सिट बेल्ट रिमाइन्डर जस्ता फिचर रहेका छन् ।

औषत १३ किलोमिटर प्रतिलिटर माइलेज दिने यो गाडीमा अगाडि डिस्क र पछाडि ड्रम ब्रेक दिइएको छ भने अलोय ह्वीलसमेत रहेको छ । ४ हजार ३१५ एमएम लम्बाई, १ हजार ८२२ एमएम चौडाई र १ हजार ६९५ एमएम उचाई रहेको यो गाडीको ह्वीलबेस २ हजार ६७३ एमएम रहेको छ । यसमा २०५ एमएमको ग्राउन्ड क्लियरेन्स उपलब्ध छ ।
यसमा दिइएको १४९८ सीसी फोर सिलिन्डर इन–लाइन इन्जिनले १०५ बीएचपी पावर र १४२ एनएम पिक टर्क जेनेरेट गर्छ । इफिसेन्ट डियुल क्लच अटोमेटिक गियरबक्स जडान भएको यो एसयूभी टु–ह्वील ड्राइभ अप्सनमा उपलब्ध रहेको छ ।
यसको नेपाली बजारमा मूल्य ४५ लाख ४९ हजार रुपैयाँ पर्नेछ ।

