काठमाडौं । सन् २०१६ को अन्त्यमा नेपाली बजारमा विक्री सुरु गर्दा रेनो भनेकै ‘डस्टर’ थियो । भनौ, भारतमा धुम मच्चाएर आएको डस्टर नेपालमा पनि अत्याधिक विक्री भयो । त्यति वेला रेनोले डस्टरको साथमा इन्ट्री लेवल ह्याचव्याक कार क्वीड पनि विक्री गथ्र्यो ।
फ्रेन्च कार निर्माता रेनोले नेपालमा लामो कसरतपछि एड्भान्स अटोमोवाइललाई आफ्नो आधिकारीक विक्रेता बनाएको थियो । नयाँ कम्पनी भएर पनि उसले ठूला र धेरै अनुभवी कम्पनीलाई पछि पार्दै रेनोको डिलरसिप पाएको थियो ।
यूरोपियन डिजाइन र केहि समयअघि मात्रै बजारमा आएको हुन्डाई क्रेटाको विकल्पको रुपमा रेनो डस्टरको विक्री निकै राम्रो भयो । क्वीडमा धेरै रकम खर्च गर्न नसक्ने मानिसहरुले यूरोपियन ब्राण्डको गाडी किनेको छु भनेर चित्त बुझाउन थाले ।

कम्पनीले सन् २०१८ को सुरुवातमा अर्को क्रसओभर एसयूभी बजारमा ल्यायो । क्याप्चर नामबाट आएको यो क्रसओभर एसयूभीलाई धेरैले हुन्डाई क्रेटाको प्रतिस्पर्धी माने । तर, बजारमा यसले राम्रो व्यापार गर्न सकेन । भनौ, उपत्यकामा यसको विक्री औलामा गन्न सकिने मात्रै भयो । उपत्यका बाहिर भने यसको विक्री तुलनात्मकरुपमा राम्रो भयो तर, उत्कृष्ट होइन ।
यसबीचमा क्वीडको व्यापारमा केहि सुधार देखियो । सडकमा क्वीडको ‘प्रेजेन्स’ बढेसँगै २०/२२ लाख रुपैयाँ खर्च गरेर गाडी किन्नेको रोजाईमा क्वीड पर्न सफल भयो । झट्ट हेर्दा एसयूभी जस्तो लुक्स, इन्व्यूल्ड इन्फोटेन्टमेन्ट सिस्टम, १८० एमएमको ग्राउन्ड क्लियरेन्स जस्ता कारण क्वीडले विस्तारै बजारमा आफ्नो प्रभाव बढाउन थाल्यो । तर, कम्पनीले विक्री गर्ने डस्टर, लोजी र क्याप्चरको विक्री क्रमिकरुपमा घट्दै गायो । यतिसम्म कि कम्पनीले लोजी मोडल थप ल्याउने प्रयास समेत गरेन ।
सन् २०१९ को मध्यबाट रेनोको खराव दिन सुरु भएको थियो । नयाँ मोडल नहुनु, पुरानो मोडलमा ग्राहकको आकर्षण नवढ्नु र कम्पनीले ल्याएका गाडी पनि विक्री भइनसकेको अवस्था कोभिडको असर सुरु हुने वेलासम्म यथावत रहेको थियो ।

नेपाल आएको दुई वर्षमा २ हजार ५०० यूनिट गाडी विक्री गरेको रेनोलाई गाडी विक्री गर्न निकै सकस भयो । कोभिड १९ को असर देखिनु केहिअघि कम्पनीले नयाँ मोडल ट्राइबर बजारमा उतार्यो । ट्राइबरलाई बजारमा ल्याएको केहि दिनमा नै लकडाउन सुरु भएकाले यसको सफलताको स्वाद पनि एड्भान्स अटोमोवाइलले चाख्न पाएन ।
फेरिएको समय
कोभिडपछि समय फेरिएको छ । कम्पनीले ल्याएको नयाँ मोडल ट्राइबर र फेसलिफ्ट क्वीडले बजारमा निकै राम्रो ग्राहक पाइरहेका छन् । डस्टरको फेसलिफ्ट डिजेल इन्जिनमा आइसकेको छ भने पेट्रोल भेरियन्ट आउने क्रममा रहेको छ । साथै, नयाँ सब फोर मिटर एसयूभी किगर अबको ४ महिनापछि नेपाल ल्याउने तयारी सुरु भइसकेको छ ।
भारतमा निकै राम्रो विक्री भइरहेको क्वीड र ट्राइबरले नेपालमा पनि राम्रो ग्राहक पाएको देखिन्छ । कम्पनी स्रोतका अनुसार ट्राइबरको विक्री १०० यूनिटभन्दा बढी भइसकेको छ भने, क्वीड फेसलिफ्ट मोडलको विक्री दुई महिनामा १५० यूनिटभन्दा बढी भएको छ । अब डस्टर र किगर बजारमा ल्याएर आफ्नो विक्री संख्या वृद्धि गर्दै चौथो स्थानमा आफुलाई राख्ने प्रयास कम्पनीले गरिरहेको बुझिन्छ ।
अहिले संख्यात्मक आधारमा हेर्ने हो भने हुन्डाई, मारुती सुजुकी, महिन्द्रा, टाटा र किया धेरै गाडी विक्री गर्ने कम्पनीमा पर्छन् । यस्तोमा रेनोलाई यी कम्पनीसँग सिधा प्रतिस्पर्धा गर्नु पर्ने अवस्था रहेको छ ।

‘किगर र नयाँ डस्टर आएपछि हामी वार्षिक १ हजार ५ यस यूनिट कार विक्री गर्ने लक्ष्यसहित काम गरिरहेका छौं । नयाँ प्रडक्टले हाम्रो लक्ष्यमा राम्रो साथ दिने अपेक्षा गर्न सकिन्छ’, कम्पनी स्रोतले मेरोअटोसँग भन्यो ।
मूल्यले साथ दिदै
रेनोको सबैभन्दा कम मूल्यको कार हो क्वीड । यसको अहिले अधिकतम खुद्रा मूल्य २४ लाख ९९ हजार रहेको छ । यसलाई कम्पनीले विभिन्न तीन भेरियन्टमा विक्री गर्दै आएको छ । क्वीड आरएक्सटी (ओ)को मूल्य २४ लाख ९९ हजार रुपैयाँ रहेको छ । यो फुल अप्सन क्वीड हो । यसको अटोमेटिक भेरियन्टको मूल्य २६ लाख ४९ हजार र क्वीड क्लाइम्बर भेरियन्टको मूल्य २५ लाख ९९ हजार रुपैयाँ रहेको छ ।
रेनो ट्राइबर पनि विभिन्न तीन भेरियन्टमा उपलब्ध रहेको छ । यसको सुरुवाती भेरियन्ट आरएक्सईको मूल्य २८ लाख २० हजार रुपैयाँ रहेको छ । आरएक्सटी भेरियन्टको ३१ लाख ६० हजार र आरएक्सजेड भेरियन्टको ३३ लाख ९९ हजार रुपैयाँ रहेको छ ।
रेनोले ल्याउने नयाँ सब फोर मिटर एसयूभीको सुरुवाती भेरियन्टको मूल्य पनि ३० लाख रुपैयाँ हाराहारी रहने अनुमान गरिएको छ ।


