काठमाडौं । यामाहाले नेपालमा विक्री गरेको क्रुजर मोटरसाइकल ‘इन्टाइसर’ निकै चर्चित मोटरसाइकल थियो । तर, भारतमा यसको मागमा कमी आएसँगै यामाहाले यसको उत्पादन बन्द गरेको हो ।
सन् २००३ देखि २००६ सम्म मात्रै उत्पादन भएको यामाहा इन्टाइसर कम मूल्यमा क्रुजर मोटरसाइकल चाहनेहरुको मुख्य रोजाइमा पथ्र्यो । त्यति बेला बजरमा यसलाई दुई भेरियन्टमा ग्राहकले खरिद गर्न सक्थे । जसमा एउटा रेगुलर मोडल थियो भने अर्को डिलक्स मोडल थियो ।
यामाहा इन्टाइसरमा १२३.७ सीसी, एयर कुल्ड, फोर स्टोक सिंगल सिलिण्डर इन्जिन दिइएको थियो । उक्त इन्जिनले १० पीएस पावर र ९.६ एनएम टर्क प्रदान गथ्र्यो । यसमा ४ स्पीडको गियरबक्स दिइएको थियो । सिट हाइट ७९० एमएम भएकाले सहजै जुनसुकै हाइट भएका मानिसलाई पनि उपयुक्त रहेको थियो ।
भेन्टेज लुक्समा रहेको फ्यूल ट्याङ्क यसको मुख्य आकर्षण रहेको थियो । प्रतिलिटर ४५ किलोमिटर माइलेज प्रदान गर्ने इन्टाइसरले सून्यदेखि ६० किलोमिटरको स्पीड भेट्टाउन ७ सेकेन्ड लगाउथ्यो ।
यामाहाको आधिकारीक विक्रेता एमएडब्ल्यू इन्टरप्राइजेज्ले विक्री वितरण गरेको यामाहा इन्टाइसरको विक्री बन्द हुने समयमा १ लाख ७८ हजार ९०० रुपैयाँ रहेको थियो ।
यामाहाको यो मोटरसाइकललाई टक्कर दिन बजाजले एभेन्जर बजारमा ल्याएसँगै यामाहाले यसको उत्पादन बन्द गरेको हो ।


