काठमाडौं । सन् २०२० मा चीनमा बिक्री सुरु भएसँगै विश्वभर बजेट ईभीको रुपमा चर्चा पाएको क्वीड नेपाल पनि चाँडै आउने अपेक्षा गरिएको थियो । फ्रेन्च कार निर्माताको क्वीड ह्याचव्याक नेपालमा पनि सफल मोडल थियो ।
भारतमा मासिक ४ देखि ६ हजार यूनिट बिक्री हुँदै आएको क्वीड चाँडै ईभीमा उत्पादन हुने अपेक्षा गरिएको थियो । तर, अपेक्षा अनुसार रेनोले भारतमा ईभी उत्पादनको योजना बनाएन ।
भारतमा ईभीको बिक्रीमा बढेत्तरी नहुँदा कार निर्माताहरुले इलेक्ट्री मोडल उत्पादनमा खासै चासो देखाएका छैनन् । अहिले भारतबाट कार निर्यात हुने दक्षिण एशियाली बजारमा चिनियाँ ईभीको दबदबा बढ्न थालेसँगै भारतमा कार उत्पादन गर्ने यूरोपियन, जापानी, भारतीय र कोरियन ब्राण्डहरु झस्केका छन् । त्यसमा रेनो पनि पर्नेनै भयो ।
रेनोले २०२५ मा एउटा इलेक्ट्रीक मोडल बजारमा ल्याउने घोषणा गरेको छ । कम्पनीले आफ्नो भारतमा उत्पादन हुने पहिलो ईभीको बारेमा कुनै जानकारी नदिएपनि क्वीड मोडल नै हुने अनुमान गरिएको छ ।
रेनोले भारतमा नयाँ जेनेरेशन डस्टर पनि उत्पादन गर्दैछ । नयाँ डस्टरकै जस्तो फ्रन्ट लुक्समा क्वीड ईभीलाई कम्पनीले तयार गरिरहेको बताइन्छ । क्वीड ईभीको अगाडि स्लीम होरिजेन्टल एलइडी डीआरएल प्रयोग हुने अनुमान गरिएको छ । चार्जिङ पोर्ट पनि अगाडि ग्रिलमै रहने छ । मुख्य हेडलाइट तल्लो बम्परमा राखिने छ ।
यूरोपियन बजारमा लन्च बिक्री सुरु भएको नयाँ स्प्रिङ ईभीमा आधारित रहेर भारतमा उत्पादन हुने क्वीड ईभीमा एडास सेफ्टी फिचर उपलब्ध हुनेछ । स्ट्याण्डर्ड फिचरको रुपमा ड्यूल एयरब्याग, एबीएस लगायतका फिचर रहने कारको ड्यासबोर्डमा १०.१ इन्चको फ्लोटिङ इन्फोटेन्मेन्ट स्कृन रहने छ ।
४५ देखि ६५ हर्सपावर क्षमताका सिंगल इलेक्ट्रीक मोटरमा उपलब्ध हुने क्वीड ईभीमा २६.८ किलोवाट आवरको ब्याट्री रहने छ । यसलाई सिंगल चार्जमा २२० किलोमिटरसम्म गुडाउन सकिन्छ ।


