लगातार चार वर्ष रेनो क्वीड चलाउँदा…

मोटरसाइकल वा स्कुटर छाडेर कम मूल्यको चार पाङ्ग्रे सवारी साधन खरिद गर्न खोज्ने मानिस वा संस्थालाई धेरै विकल्प उपलब्ध छैन । अहिले बजारमा क्वीड, सेन्ट्रो, रेडी गो, एक्सप्रेसो र सेलेरियो मोडल उपलब्ध रहेका छन् ।

तर, ४ वर्षअघि सेन्ट्रो बजारमा थिएन । बजारमा उपलब्ध क्वीड, रेडी गो र सेलेरियो मध्ये हामीले क्वीड किनेका थियौं । सन् २०१८ मा मेरोअटो डटकम सुरु भएको केही महिनापछि चार पाङ्ग्रे साधन किन्ने योजना अनुसार हामीले क्वीड किनेका थियौं ।

थोरै बजेटमा कार किन्नु पर्ने अवस्थाको कारण लुक्स, माइलेज र सुविधायुक्त कारको खोजीमा हिड्दा फ्रेन्च कम्पनी रेनोले भारतमा उत्पादन गरेको क्वीड किन्ने निर्णय हामीले गरेका थियौं ।

ह्याचव्याक कार भएपनि स्पोर्टी लुक्स, सेग्मेन्टकै उत्कृष्ट ग्राउण्ड क्लियरेन्स, इनब्यूल्ट टचस्कृन इन्फोटेन्मेन्ट सिस्टम, रिभर्स क्यामरा, अगाडिका दुई पावर विन्डो, एयर कन्डिसन जस्ता फिचर यसका लोभलाग्दा फिचर हुन् ।

सानो इन्जिन, उच्च माइलेज, कम संचालन खर्च, सस्तो स्पेयर पार्टस् क्वीडको सबैभन्दा सवल पक्ष हुन् । रेनोले क्वीडमा दिएको १.० लिटर, थ्रि सिलिण्डर इन्जिनले ६७ हर्स पावर र ९१ एनएम टर्क प्रदान गर्छ ।

ड्राइभिङ अनुभव

हामीले किनेको रेनो क्वीड ‘आरएक्सटी’ भेरियन्ट हो । करिब ४ वर्षमा हामीले यसलाई ३८ हजार किलोमिटर चलाएका छौं । क्वीडलाई हामीले सहरी क्षेत्रमा मात्र होइन पूर्वको मेचीदेखि पश्चिमको दाङसम्म चलाएका छौं भने लम्जुङको घलेगाँउसम्म यसलाई लगेका छौं ।

नेपालको हाइवे होस् वा सहरी बाटा यसले आफ्नो उत्कृष्ट पर्फमेन्स देखाएको छ । उच्च ग्राउन्ड क्लियरेन्स भएको कारण साना तीना खाल्टाखुल्टीमा खासै समस्या पर्दैन ।

कार चलाउन आवश्यक पर्ने मुख्य कुरा स्टेरिङ, क्लच, गियर नव हुन् । यी सबैलाई चलाउन एकदमै सजिलो छ । सेन्टर कन्सोलमा रहेको विन्डोको फ्ङ्सन सुइच चलाउन निकै सहज छ । यसमा चालकको देब्रे हातले विन्डो स्वीच, गियरनव, इन्फोटेन्टमेन्ट सिस्टम चलाउन मिल्ने भएकोले सहज छ ।

क्वीडको उत्कुष्ट पक्ष डिजिटल इन्ट्रुमेन्ट क्लष्टर हो । सानो तथा चार वर्ष पुरानो कार भइकन पनि यसको डिजिटल इन्ट्रुमेन्ट क्लस्टर उत्कृष्ट रहेको छ । यसले कारको ड्यासबोर्डलाई पनि आधुनिक र प्रिमियम देखाएको छ ।

सधै व्यस्त रहने हाम्रा लागि क्वीडको अर्को सवल पक्ष ८ हजार किलोमिटर पछि मात्रै सर्भिसिङ गर्दा हुनु हो । यो गाडी लगातार चलाउँदा पनि करिब ६ महिनापछि मात्रै यसलाई सर्भिसिङ गर्दा हुन्छ । अन्य अधिकांश कम्पनीले २ हजारदेखि ३ हजार ५ सय किलोमिटर मै सर्भिसिङ गर्नु पर्दा पैसा र समय दुबै धेरै खर्च हुन्छ ।

हामीले यसलाई ४ वर्ष चलाउँदा हाइवेमा १६ देखि १८ किलोमिटर प्रतिलिटर माइलेज पाएका छौं । सहरी क्षेत्रमा पनि करिब १२ किलोमिटर प्रतिलिटरको माइलेज दिइरहेको छ । जुन बढ्दो पेट्रोलको मूल्य अनुसार एकदमै सहि छनौट भएको हाम्रो ठम्माई छ ।

केही समस्या

एसी चलाएर हिड्दा यो कारको स्पीड बढाउनु पर्दा एसी नै बन्द गर्नु पर्छ । यसले गर्मी स्थानमा यात्रा गर्दा समस्या भोग्नु पर्छ । अर्को तीन सिलिण्डर इन्जिन भएर हुनु पर्छ आवाज अन्य कारको तुलनामा ठूलो लाग्छ । साथै, कारको मोवील चेम्बर प्लास्टीकको भएका कारण तल ठोकीदा तत्काल फुट्ने सम्भावना बढि हुन्छ । ४ वर्षमा हामीले पनि एक पटक फुटाएका छौं ।

अन्त्यमा

चार वर्षको संचालन अनुभव एकदमै आरामदायी रह्यो । हाम्रो अनुभवको आधारमा भन्न सक्छौ, ‘रेनोको क्वीड नेपालको इन्ट्री लेवल कार सेग्मेन्टमा एक उत्कुष्ट छनौट हो ।’

संचालन तथा नियमित मर्मत सम्भार खर्च एकदमै कम हुनुका साथै उत्कृष्ट माइलेजका कारण पहिलो पटक कार किन्ने कुनै पनि ग्राहकलाई यसले निरास बनाउने छैन ।


Back_to_top