काठमाडौं । जर्मन ब्राण्ड फक्सवागेन विश्वभर धेरै कार उत्पादन गर्ने मध्येको एक ब्राण्ड हो । जापानी ब्राण्ड टोयोटासँग मास मार्केटमा कडा प्रतिस्पर्धा गरिरहेको फक्सवागनले विद्युतीय कार उत्पादनमा पनि ठूलो लगानी गरिरहेको छ ।
विशेषत अहिले यूरोपियन र अमेरिकी बजारमा इलेक्ट्रीक कार विक्री गर्दै आएको फक्सवागेनले चाँडै भारतमा पनि इलेक्ट्रीक कार उत्पादन र विक्री गर्ने योजना बनाएको रिपोर्टहरु बाहिर आइरहेका छन् ।
भारतीय बजारमा आएको खण्डमा नेपालमा पनि फक्सवागेनको इलेक्ट्रीक कार आउने सहजै अनुमान गर्न सकिन्छ । कम्पनीले भारतमा विक्री गर्ने अधिकांश मोडल नेपालमा पनि विक्री वितरण हुँदै आएको छ । अन्तर्राष्ट्रिय बजारमा विक्री वितरण हुँदै आएको आइडी फोर मोडल नेपाल र भारतमा चाँडै विक्री सुरु हुने अनुमान गर्न सकिन्छ ।
फक्सवागेन आइडी फोर प्रिमियम कार भएको कारण यसले संख्यात्मक विक्री पाउन कठिन हुने भएकोले कम्पनीले पोलो ह्याचव्याकमा आधारित रहेर नयाँ मोडल ल्याउने तयारी गरिरहेको छ । उसले केही समयअघि सार्वजनिक गरेको ‘क्वार्की आइडी लाइफ कन्सेप्ट’मा आधारित रहेर आउने इलेक्ट्रीक ह्याचव्याकको नाम आइडी १ रहने अनुमान गरिएको छ ।
फक्सवागेनको एमइबी प्लेटफर्ममा आधारित रहेर तयार भएको यो इलेक्ट्रीक कार ५७ किलोवाट आवरको ब्याट्री रहने छ भने, यसले ४०० किलोमिटर भन्दा धेरै रेन्ज दिने अनुमान गरिएको छ ।

