रेनोको क्विड ईभी नेपालको सडकमा परीक्षण हुँदै, कहिलेबाट हुन्छ बिक्री सुरू ?

काठमाडौं । फ्रेन्च अटोमोबाइल कम्पनी रेनोले आफ्नो ह्याचब्याक मोडल क्वीडको इलेक्ट्रीक भर्सनको परीक्षण सुरू गरेको छ । कम्पनीले हाल नेपाल र भारतमा क्वीड ईभीको सडक परीक्षण गरिरहेको हो ।

नेपालको लागि रेनोको आधिकारिक वितरक एड्भान्स अटोमोबाइलले केही समय अघि भित्र्याएको क्वीड ईभी अहिले विभिन्न ठाउँमा गुडाएर परीक्ष गरिरहेको हो ।

क्वीड ईभी आगामी साउनमा आयोजना हुने नाइमा नेपाल मोबिलिटी एक्सपोमा लन्च गर्ने तयारी रहेको कम्पनी स्रोतले मेरोअटोलाई बतायो ।

रेनोले क्वीड ईभी युरोपियन देशहरूमा डासिया ब्राण्डमा स्प्रिङ ईभीको नाममा बिक्री गरिरहेको छ भने चीनमा सिटी केजेड ईभीको नाममा रेनोकै ब्याजमा बिक्री गरिरहेको छ ।

नेपली बजारमा अहिले आएको क्वीड ईभी चीनमा उत्पादन भएकाे हो । यद्यपि, भारतमा समेत रेनो क्वीडको ईभी भर्सन उत्पादन छिटै सुरू हुने सम्भावना रहेको छ ।

चीनमा उत्पादन भएको क्वीड ईभीमा २६.८ किलोवाट आवरको एलएफपी ब्याट्रीप्याक रहेको छ । यसको एनईडीसी रेन्ज २७१ किलोमिटर रहेको कम्पनीले बताएको हो । तर यसको रियल वल्ड रेन्ज २०० किलोमिटरको हाराहारीमा पाउन सकिनेछ । यसमा ४४ हर्सपावर तथा १२५ न्युटन मिटर टर्क दिने ३३ किलोवाटको इलेक्ट्रीक मोटर दिएको छ ।

रेनोको सीएमएफए ईभी प्ल्याटफर्ममा बनेको यो ईभीमा फोरजी वाइफाइ कनेक्टिभिटीको साथमा ८ इन्चको इन्फोटेनमेन्ट सिस्टम, ड्युल एयरब्याग, रियर पार्किङ क्यामरा, टायर प्रेसर मोनिटरिङ सिस्टम, सेन्टर कन्सोलमा गियर रोटरी नब लयागत फिचर छ ।

यो ईभीको लम्बाइ ३७४० एमएम, चौडाइ १५८० एमएम, उचाइ १४८० एमएम र २४२३ एमएमको ह्वीलबेस रहेको छ ।

चिनियाँ बजारमा ९ हजार डलरको हाराहारीमा बिक्री भइरहेको यो ईभीको नेपाली बजारमा प्रतिस्पर्धा केईको इक्युट ४ र टाटाको टियागो ईभीसँग हुनेछ ।


Back_to_top