काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ मा साढे २ अर्ब रुपैयाँ बढीको सवारी साधन खरिद गर्ने भएको छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जेठ १५ गते ल्याएको बजेटमा आगामी वर्ष सवारी साधान खरिदका लागि २ अर्ब ५६ करोड ६८ लाख रुपैयाँ विनियोजन गरेका हुन् ।
आगामी वर्षका लागि विनियोजन गरिएको बजेट चालु वर्षको तुलनामा दोब्बरभन्दा धेरै अर्थात् १२५.४९ प्रतिशत बढी हो । सरकारले चालु आवमा सवारी साधन खरिदका लागि चालु आवमा १ अर्ब १३ करोड ८३ लाख रुपैयाँ बजेट छुट्याएको थियो ।
सरकारले सवारी साधनमा शीर्षकमा छुट्याएको उक्त बजेटमध्ये १ अर्ब २४ करोड मात्रै राजस्वबाट प्राप्त हुने जनाइएको छ । बाँकी रकम ऋण र वैदेशिक सहयोगबाट भुक्तानी गरिने छ ।
जसमा ६७ करोड २१ लाख रुपैयाँ आन्तरिक ऋण र ४५ करोड ९१ लाख रुपैयाँ वैदेशिक सहयोगबाट प्राप्त हुने अर्थमन्त्रालयले जनाएको छ ।
त्यस्तै, आगामी वर्ष सावारी साधन तथा मेशिनरी औजार भाडामा लिनका लागि १३ करोड ९५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
त्यस्तै, अर्थमन्त्रीले आगामी वर्ष सवारी साधन मर्मत तथा इन्धन खर्चका लागि ६ अर्ब २५ करोड रुपैयाँ बजेट छुट्याएका छन् ।
आगामी वर्ष पदाधिकारीका लागि इन्धनका लागि २१ करोड ३२ लाख, कार्यालय प्रयोजनकाे इन्धनका लागि ४ अर्ब ५ करोड र सवारी साधन मर्मतका लागि १ अर्ब ९९ करोड ७ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
त्यस्तै, आगामी वर्ष मेसिनरी तथा औजार खरिद तथा मर्मतका लागि १५ अर्ब ९७ करोड रुपैयाँ विनियोजन गरिएको छ ।


