काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवारी चालक अनुमति पत्र (लाइसेन्स) लिन परीक्षामा सहभागी नै नभएका व्यक्तिलाई लाइसेन्स दिएकोभन्दै ४ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।
एउटा व्यक्तिको नाममा जारी भइसकेको लाइसेन्सको विवरण परिवर्तन गरी अर्कै व्यक्तिलाई दिएको पाइएपछि अख्तियारले लाइसेन्स लिने व्यक्ति र यातायात कार्यालय रुपन्देहीका ३ कर्मचारीसहित ४ जना विरुद्ध विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको हो ।
अख्तियारले रुपन्देही यातायात कार्यालय (सवारी चालक अनुमतिपत्र)का तत्कालीन कम्प्युटर अपरेटर कमल पराजुली, सहायक कम्प्युटर अपरेटर नारायणप्रसाद पाण्डेय र यातायात व्यवस्था कार्यालयङरका तत्कालीन कम्प्युटर अपरेटर अनिल बुढामगर विरुद्ध मुद्दा दायर गरेको हो ।
त्यस्तै, अख्तियारले परीक्षामा सहभागी नै नभई लाइसेन्स लिने रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ४ बस्ने सभ्यता केसी विरुद्ध पनि मद्दा दायर गरेको छ ।
अख्तियारका अनुसार सभ्यता लाइसेन्सका लागि लिखित र ट्रायल दुवै परीक्षामा सहभागी भएकी थिइनन् । उनले यातायात कार्यालयका कर्मचारीसँग मिलेमतो गरी अरूले ट्रायल पास गरेको लाइसेन्सको विवरण सच्याएर आफूले प्रयोग गरेको भेटिएको हो ।
यातायातकका कर्मचारीले कम्प्युटर प्रणालीमा अरूकै नाममा जारी भइसकेको लाइसेन्सको विवरण परिवर्तन गरी सभ्यतालाई दिएका थिए । उनीहरूले आवेदक आइडी र लाइसेन्स नम्बर यथावत राखेको तर, नाम लगायतका अरू व्यक्तिगत विवरण सच्याएर सभ्यतालाई दिएको अनुसन्धानमा खुलेको हो।
यातायात कार्यालयले अर्कै व्यक्तिको नाममा जारी भएको ०१-०८-०१०३१२६२ नम्बरको लाइसेन्समा कर्मचारीले सिस्टमबाट नाम लगायत विवरण परिवर्तन गरी सभ्यतालाई ०१-०८-००८३६६८७ नम्बरको लाइसेन्स दिलाएका थिए । सभ्यताले बी क्याटागोरी थप गर्न आवेदन दिएकी थिइन् । तर, आफू लिखित र ट्रायल परीक्षामा सामेल नै नभई अर्काको विवरण परिवर्तन गरी आफ्नो नाममा लाइसेन्स लिएकी थिइन् ।
यसरी सेटिङमा सरकारी अभिलेख प्रणालीमै चलखेल गरेर फर्जी लाइसेन्स बनाएर दिएको खुलेपछि अख्तियार चारैजना विरुद्ध मुद्दा दायर गरेको हो ।
अख्तियारले उनीहरू विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र दफा ११ अन्तर्गतको कसुरमा कैद र जरिवाना सजाय माग गर्दै मुद्दा दायर गरेको हो ।

