काठमाडौं । रोल्स रोयसले एक वर्ष अगाडि पहिलो पटक टिजर देखाएको अल इलेक्ट्रीक मोडल ‘स्पेक्टर’लाई लाखौं किलोमिटर परिक्षणपछि पहिलो पटक सार्वजनिक गरेको छ । रोल्स रोयस स्पेक्टर दुई ढोका भएको कुप्पे डिजाइनमा आधारित मोडल हो ।
विगतको जस्तै रोल्स रोयसको ब्राण्ड आइडेन्टीटी बोकेको स्पेक्टर ५४५० एमएम लामो छ । यसको चौडाई पनि २००० एमएमभन्दा बढी रहेको छ । कम्पनीले यसलाई चार ढोका भएको मर्सिडिज इक्यूएसभन्दा लामो बनाएको छ ।
निकै फराकिलो ग्रिल र त्यसमा दिइएको २२ वटा एलइडीसहितको स्लटले यसको अगाडिको भागलाई पृथक र आकर्षक बनाएको छ । स्प्लीट हेडल्याम्प डिजाइन, हेडल्याम्पभन्दा माथि दिइएको अल्ट्रा स्लीम एलइडी डे टाइम रनिङ लाइटले अगाडिको भागलाई सुन्दर देखाएको छ ।
कारको पछाडिको भागमा फास्टब्याक रुफ प्यानल, ठूलो सिंगल बडी प्यानल, भर्टिकल टेल ल्याम्प, २३ इन्चको अलोय ह्वील यसमा पाउन सकिन्छ । कारको इन्टेरियर सजाउन कम्पनीले कुनै कसर बाँकी राखेको छैन । रोल्स रोयस गोस्टको इन्टेरियरसँग निकै मिल्दो जुल्दो क्याविन स्पेक्टरमा पाउन सकिन्छ ।

कम्पनीले यसको सबै टेक्नीकल डिटेल बाहिर नल्याएपनि यसलाई सिंगल चार्जमा ५२० किलोमिटर गुडाउन सकिने डब्लूएलटीभीले प्रमाणित गरेको छ । ४३६ किलोवाट क्षमाताको निकै पावरफुल मोटर दिइएको यो कारले ९०० एनएम टर्क प्रदान गर्छ ।
यो कारले ३ हजार किलोग्राम तौल बोकेर सून्यदेखि १०० किलोमिटर प्रतिघन्टाको स्पीड केवल ४.५ सेकेन्डमा भेट्टाउने कम्पनीको दावी छ । सन् २०२३ को अन्तिम त्रैमासबाट मात्रै यसको विक्री सुरु हुनेछ ।

