काठमाडौं । चर्चित क्लासिक मोटरसाइकल उत्पादक कम्पनी रोयल इनफिल्डले विद्युतीय मोटरसाइकल ल्याउने निश्चित भइसकेको छ । कम्पनीले सन् २०२४ मा आफ्नो पहिलो इलेक्ट्रीक मोटरसाइकल बजारमा ल्याउने योजना अनुसार काम भइरहेको जनाएको छ ।
रोयल इनफिल्डले अबको १८ देखि २४ महिना भित्रमा आफ्नो पोर्टफोलियोमा इलेक्ट्रीक मोटरसाइकल थप गर्ने लक्ष्यका साथ काम गरिरहेको मिडिया रिपोर्टहरुले उल्लेख गरिएका छन् ।
यसको लागि कम्पनीले ओलाका पूर्व चिफ टेक्नोलोजी अफिसर उमेश कृष्णप्पालाई सहितको विशेष टिम बनाएर काम सुरु गरेको हो । कम्पनीले यूके तथा भारतमा यसको डिजाइन तथा डेभलपमेन्टको काम गरिरहेको छ ।
मिडिया रिपोर्टका अनुसार कम्पनीले ईभी प्रोजेक्टका लागि पहिलो चरणमा २ अर्व नेपाली रुपैयाँ बराबरको लगानी गर्ने बताइएको छ । कम्पनीले बजारमा वार्षिक १ लाख २० हजार यूनिटदेखि १ लाख ८० हजार यूनिट हाराहारी इलेक्ट्रीक मोटरसाइकल विक्री गर्ने गरी बजार अनुसन्धान गरिरहेको छ ।
रोयल इनफिल्ड विश्व बजारमा आफ्ना ईभीलाई उतार्ने तयारी सहित काम गरिरहेको छ । उक्त योजना अनुसार अबको १२ महिना भित्रै पहिलो इलेक्ट्रीक मोडलको प्रोटाइप बजारमा आउने छ ।
अहिले रिर्सच एण्ड डेभलपमेन्टको काममा कम्पनी धेरै अगाडि पुगिसेको कम्पनीको भनाई उक्त रिपोर्टमा उल्लेख गरिएको छ ।


