काठमाडौं । कोरियन इलेक्ट्रोनीक्स कम्पनी सामसङले नयाँ सोलिड स्टेट ब्याट्री घोषणा गरेको छ । सामसङको नयाँ व्याट्रीमा धेरै रेन्ज, धेरै चार्जिङ स्पीड, धेरै सुरक्षीत हुने कम्पनीको दावी छ ।
सामसङका अनुसार नयाँ ब्याट्रीको प्रयोगपछि विद्युतीय साधनको बजार, प्रयोग र उत्पादनमा नयाँ युगको सुरुवात हुने कम्पनीको दावी छ ।
सोलिड स्टेट ब्याट्री पछिल्लो समयको विकास हो । यो ब्याट्रीले परम्परागत लिथियम आयोन व्याट्रीभन्दा एकदमै राम्रो पर्फर्मेन्स दिने भएकाले आगामी दिनमा आउने विद्युतीय साधनमा यसको प्रयोग हुनेछ । नयाँ ब्याट्री सबैभन्दा राम्रो पक्ष इनर्जी डेन्सीटी एकदमै धेरै हुनु हो । त्यहि कारण सानो स्पेशमा पनि धेरै इनर्जी स्टोर गर्न सकिन्छ ।
सोलिड स्टेट व्याट्री लिथियम आयोनभन्दा निकै छिटो चार्ज हुनेछ । यसले रिचार्जको टाइम समेत वचत हुन्छ । साथै यो ब्याट्रीले सुरक्षामा पनि नयाँ मानक स्थापना गर्ने सामसङको दावी छ । यो ब्याट्री ओभर हिटिङ नहुने भएकोले आगलागी समेत हुँदैन ।
सामसङको सोलिड स्टेट ब्याट्रीको सिंगल चार्जको रेन्ज करिब १००० किलोमिटर हुने बताइएको छ । यो ब्याट्रीको अर्को राम्रो पक्ष भनेको मात्र ९ मिनेटमा फुल चार्ज हुनु हो । साथै, ब्याट्रीको लाइफ समेत २० वर्ष रहनेछ ।
पछिल्लो समय विश्वका धेरै कम्पनीहरु सोलिड स्टेट ब्याट्रीको रेसमा रहेका छन् । जापानी अटोमोवाइल कम्पनी टोयोटाले सन् २०२० बाटै नै यो टेक्नलोजीको आर एण्ड डीमा लगानी गरिरहेको छ । अर्को जापनीज कम्पनी पानासोनीकले पनि टेस्लासँगको कोल्याब्रेसनमा सोलिड स्टेट ब्याट्रीको विकास गरिरहेको छ ।
त्यस्तै, फक्सवागेनको लगानी रहेको क्वान्टम स्केप तथा होण्डा मोटर्सले समेत यसमा काम गरिरहेका छन् । चिनियाँ ईभी कम्पनीहरु एसएआइसी, जीली, चेरी, जीएसी, सीएटीएल गोसन हाइटेक तथा बीवाइडीले समेत सोलिड स्टेट ब्याट्रीको विकासमा आफ्नो आफ्नो तर्फबाट आर एण्ड डी गरिरहेका छन् ।